दसगजामा गुम्बा बनाउँदै भारत

काठमाडौँ । भारतले इलामको पशुपतिनगर ४ फाटक र भारतको राङवाङ ग्रामपञ्चायतको बीचमा पर्ने नेपाल–भारत सीमाको दसगजा क्षेत्रमा भव्य गुम्बा निर्माण गर्न सुरु गरेको छ । काठले बनेको पुरानो टासीछङ्लिङ गुम्बा भत्काएर सामुदायिक हलसहितको भव्य पक्की गुम्बा बनाउने तयारी गरिएको जानकारी फाटकको स्थानीय अगुवा बुद्ध तामाङले दिए ।

गोरखा जनमुक्ति मोर्चाका अध्यक्ष तथा गोर्खा टेरिटोरियल एड्मिनिस्ट्रेटिभ (जीटीए) प्रमुख विमल गुरुङले रकम दिने आश्वासन दिएपछि गुम्बा बनाउन थालेको जानकारी स्थानीयले दिए । त्यसका लागि भारत सरकारका तर्फबाट गुरुङले भारु ६० लाख निकासा गराएको स्रोतको दाबी छ ।

गुम्बा बनाउने विषयमा तीन महिनाअघि छलफल हुँदा नेपाली पक्षले दसगजाभित्र पर्ने भन्दै विरोध जनाएको थियो । अहिले भने गुम्बाआसपासका टहरा भत्काउन सुरु गरिएको छ । जीटीए प्रमुख गुरुङले भने, ‘धार्मिक र पर्यटकीय कुरा हो । हामी काम रोक्दैनौं ।’
स्थानीयका अनुसार गुम्बा बनेपछि दुवै देशलाई फाइदा हुने भन्दै निर्माणको काम थालिएको छ । पशुपतिनगरका अगुवा मिलन क्षेत्रीले तीन महिनाअघि नेपाली पक्षको विरोधका कारण स्थगित गरिएको काम पुनः सुरु भएपछि नेपालतर्फका बासिन्दाले दसगजामा भइरहेको क्रियाकलाप रोक्न स्थानीय प्रशासनलाई अनुरोध गरेको बताए । उनले भने, ‘संरचना हटाउने काम सुरु भएको छ । चाँडो चासो लिन स्थानीय प्रशासनलाई भनेका छौं ।’

पशुपतिनगरस्थित सीमा प्रशासन कार्यालय प्रमुख मोहनलाल पनेरूले तीन महिनाअघि नेपालको दबाबमा रोकिएको गुम्बा निर्माणको काम भारतले फेरि सुरु गर्न थालेको बताए । ‘दसगजा क्षेत्र नो म्यान्स ल्यान्ड हो । त्यहाँ कुनै देशले केही निर्माण गर्न र कुनै पनि गतिविधि गर्न पाउँदैन’, उनले भने, ‘तर भारतीय पक्षले बलमिच्याइँ गरी काम सुरु गरेको छ ।’

पनेरूले जिल्ला प्रशासन कार्यालय इलामलाई औपचारिक रूपमा यसबारे जानकारी गराइसकेका छन् । अन्नपूर्ण पोस्ट