घाटमा आगो किनबेच !

– जनकराज सापकोटा , काठमाडौं

मृत्यु संस्कारका बेला डोम समुदायसँग आगो किन्ने परम्परा मधेसमा सदियौंदेखि नै चल्दै आएको छ
मंसिर १७, २०७३- बेल्हीको सानो खोला किनारमा सम्पित मल्लिक हातमा आगो बोकेर बसेका थिए । खोला किनारमा जम्मा भएका कथित उपल्ला जातका मलामीले सम्पितसँग आगो बेच्न आग्रह गरे । अरू बेला सधैं ‘छोइछिटो’ गरिने डोम समुदायका सम्पितले आगो नबेचेसम्म मृत्यु संस्कार अगाडि बढदैनथ्यो । वैदेशिक रोजगारीका क्रममा मृत्यु भएका बालकिसुन मण्डलको शव जलाउनका लागि आगो किन्न एकछिन बार्गेनिङ चल्यो । एक हजार रुपैयाँ मागेका सम्पित अन्तत: ५ सय ५१ रुपैयाँमा आगो बेच्न तयार भए ।

मृत्यु संस्कारका बेला डोम समुदायसँग आगो किन्ने परम्परा मधेसमा सदियौंदेखि नै चल्दै आएको छ । अरू बेला छोइछिटो गरे पनि डोमहरूसँग मृत्यु संस्कारपूर्व आगो नकिनी हुन्न । यसरी आगो किनबेचमा डोम समुदायका मानिसले मृतकका परिवारको आर्थिक अवस्था हेरेर आगोको मूल्य तोक्छन् ।सम्पितका अनुसार धनी मान्छेहरू आफ्नो परिवारका सदस्य मरेपछि धेरै पैसा तिरेर आगो किन्न राजी हुन्छन् । कतिपयले भने आगोको मूल्य सकेसम्म घटाउन खोज्छन् । सम्पितले भने, ‘मण्डल कमजोर आर्थिक अवस्था भएकै कारण मैले थोरै पैसामा आगो बेच्न राजी भएँ । अरू बेला हुन्थ्यो भने हजार घटी मान्दिनथें ।’

आगो बेचेर एक वर्षमा पचास हजार रुपैयाँसम्म कमाएको अनुभव छ सम्पितसँग । पछिल्ला दुई वर्ष वैदेशिक रोजगारीका क्रममा दुबईमा रहेका बेला भने उनका दाइ हरिले आगो बेचेका थिए । पछिल्ला वर्षमा आगो बेच्ने डोमहरूलाई थोरै पैसा दिने गरिएको सम्पित बताउँछन् । सम्पितले सुनाए, ‘पहिला केही धनीमानीले आगो लिँदा जमिन नै दिन्थे ।’ जस्तो कि ६ वर्षअघि गाउँकै महावीर मण्डलले आमाको मृत्युका बेला सम्पितका बाबु खुसीलाललाई डेढ कट्ठा जमिन नै दिएका थिए । सम्पितले भने, ‘दुई/तीन हजार रुपैयाँ त सामान्य नै हो । तर गरिबसँग भने हामीले धेरै पैसा माग्दैनौं ।’

यसरी आगो बेचेर कमाएको पैसाबाट डोम समुदाय आफ्नो समुदायको माइनज्वाइन (मुखिया) र गाउँका अगुवा बोलाएर भोज खुवाउँछन् । सम्पितले आफूले पाएको ५ सय ५१ रुपैयाँले आफ्ना माइनज्वाइन टुंगे मल्लिकलाई भोज खुवाउने विचार गरेका छन् । अनौठो त के छ भने गाउँ खरिदबिक्री (जसले पुस्तैनी रूपमा गाउँ किनेको छ, उसैले उक्त गाउँमा बाँसका सामग्री बेच्ने र मृत्यु संस्कारमा आगो बेच्नेलगायत काम गर्ने अधिकार राख्छ) को परम्परा रहेको डोम समुदायमा अधिकार प्राप्त व्यक्तिले मात्रै आगो बेच्न पाउँछ । जस्तो कि, सम्पितको परिवारले अरू गाउँमा गएर आगो बेच्न पाउँदैनन् भने उनको गाउँमा अन्य गाउँको डोम आएर आगो बेचे कारबाहीको भागिदार हुनुपर्छ ।mडोम समुदायमाथि लामो समयदेखि अध्ययन गरिरहेका सप्तरीका भोला पासवान डोमको हातबाट आगो नकिनी स्वर्ग जान सकिँदैन भन्ने मान्यता मधेसमा व्याप्त रहेको बताउँछन् । काशीको घाटमा अहिले पनि डोमहरूले आगो बेच्ने प्रथा जारी रहेको उल्लेख गर्दै उनले भने, ‘सधैं छोइछिटोको सिकार हुने डोमहरूसँग कथित उपल्ला जातिकाहरू घाटमा अनुरोध गर्ने अवस्थामा पुग्छन् ।’

पासवानका अनुसार डोमहरूलाई दलितभित्रको पनि दलितका रूपमा व्यवहार गरिन्छ । मधेसमा कथित तल्लो जातका रूपमा मानिने पासवान, राम, मुसहर, खत्वेले पनि डोमसँग छोइछिटोको व्यवहार गर्छन् । सधैं छोइछिटो गरे पनि डोमले बाँसबाट बनाएको चंगेरी (डालो) र खरको सिकीले बनाइने पौती (दुना) किन्नु अनिवार्य हुन्छ । पछिल्लो जनगणनाअनुसार देशभर डोमको जनसंख्या १३ हजार २ सय ६८ छ । कान्तिपुरबाट