मेलम्चीले भत्काएका सडकमा अब स्थायी पिच

काठमाडौं । मेलम्ची खानेपानी आयोजनाको लागि पाइपलाइन बिछ्याउँदा खनिएका मुख्य सडकखण्डमा स्थायी कालोपत्रे (पिच) गर्न सुरु भएको छ ।

अहिले मेलम्चीको पाइप बिछ्याउँदा खनिएका सडक कालोपत्रे नगरेर छाड्दा घाम लाग्दो धुलाम्ये र पानाी पर्दा हिलाम्ये हुने गरेको छ ।

 

तर, सडक विभागले थापाथलीबाट टिकाउ पिच गर्न सुरुवात गरेको छ । क्रमैसँग स्थायी रुपमा सडकहरुको कालापत्रे गरिने मध्यमाञ्चल क्षेत्रीय सडक निर्देशनालयका निर्देशक शिवहरी सापकोटाले बताए ।

‘मेलम्ची अन्तरगतको आयोजना कार्यान्वयन निर्देशनालयसँगको समन्वयमा हामीले काम सुरु गरेका छौं,’ निर्देशक सापकोटाले अनलाइनखबरसँग भने, ‘फेरि भत्किाइने ठाउँमा अहिले नै खर्च गर्दैनौं ।’

उनले वषर्ादेखि ठूला खाल्डाले अस्तव्यस्त भएको त्रिपुरेश्वर चोकमा पनि स्थायी कालोपत्रे गरिएको जानकारी दिए । अब एक-एक गरेर अस्तव्यस्त सडकहरुलाई कालोपत्रे गर्दै जाने योजना निर्देशनालयले बनाएको छ ।

पुनः नभत्काइनेे सडक प्राथमिकतामा

मेलम्चीको पाइप बिछ्याएपछि कतिपय ठाउँमा कालापत्रै नगरी छाडिएको छ भने कतै अस्थायी पिच मात्रै गरिएको छ ।

अब त्रिपुरश्वर-कालीमाटी खण्डमा पनि मंसिरभित्रै स्थायी रुपमा कालोपत्रे गरिने निर्देशक सापकोटाले जानकारी दिए । ‘यो खण्डमा मेलम्चीले पाइप बिछ्याउँदैछ । उसले कार्तिभित्रमा काम सक्छु भनेको छ । त्यसपछि आमी मंसिरको दोस्रो हप्ताभित्रै टेकु क्षेत्रमा पनि विस्तारित सडक कालोपत्रे गर्छौं’ सापकोटाले भने ।

मेलम्चीले पुनः नभत्काउने सडकलाई नै केन्दि्रत गरेर काम अघि बढाइने सडक विभागले बताएको छ । ‘अब हामीले पिच गरेका सडक कसैले अनुमतिविना भत्काए कारवाही गर्छौं,’ सापकोटाले भने ।

वर्षा आगावै काम सक्ने लक्ष्य

भत्किएका सडकलाई दुरावस्थामा नछोड्ने भन्दै सडक विभागले ठेकेदारहरुलाई टाइमलाइन दिएर काम लगाउन थालेको छ ।

तिहारअघि नै माइतीघर-बानेश्वर-त्रिपुरेश्वर सडकखण्डको सर्भिस लेन पनि कालापत्रे गरिने सापकोटाले बताए । अहिले यो सडकका विभिन्न भागमा कालोपत्र नहुँदा खाल्डाले सवारी चलाउनै कठिन हुने अवस्था बनेको छ ।

मेेलम्चीले पाइप बिछ्याउँदा खनिएका सडक विभाग मातहतका २२० किलोमिटर सडक आगामी वषर्ा आगावै पिच गरिसक्ने योजना बनाइएको छ । ‘विस्तार भइरहेका ९२ वटा सडकलाई हेर्ने हो भने विद्युत प्राधिकरणले पोल नसारिएको मात्रै हैन, स्थानीयले विभिन्न तवरले असहयोग गरेको सम्मका सवाल छन्’ निर्देशक सापकोटाले भने, ‘सकेसम्म सडकलाई पुनर्जीवन दिन हामी काम गर्छौं । सबै संयन्त्रलाई एक्टिभ बनाएर परिचालन गर्छौं ।’

तर, लैनचौरबाट महाराजगञ्जसम्मको सडकखण्डको ४ लेन नै तत्काल पिच नगरिने भएको छ । विभिन्न स्थानमा खानेपानीको पाइप तथा ढल चुहिने समस्या भएकाले यो खण्डको ३ लेनमात्रै स्थायी पिच गरिनेछ ।

धेरै वटा सडकमा ढल तथा पानी लिक हुने समस्याले विभागलाई काम गर्न अप्ठेरो सिर्जना भएको छ । अनुरोध गर्दा पनि केयुकेएल र ढल निकास विभागले बेवास्ता गर्दा समस्या भएको दावी विभागको छ ।

मेलम्ची आयोजनाले राजधानीका धेरै स्थानमा भल्भ चेम्बर निर्माण गर्न खाल्डो खनिरहेको छ । यसैकारण द्रुत गतिमा सबै सडकमा एकैपटक पिचको काम थाल्न नसकिने स्पष्टीकरण विभागको छ ।

राजधानीमा बढी अस्तव्यस्त भएको चाबहिल आसपासको सडक पनि केही समयभित्रै कालोपत्रे गर्ने योजना बनेको छ । कतिपय सडक भने मेलम्चीको आयोजना कार्यान्वयन निर्देशनालय -पीआईडी) ले पिच गर्नेछ । चाबहिलबाट चुच्चेपाटीसम्म पीआईडीले नै पिच गर्ने तय भएको छ ।

भीआईपीमा चासो

विभागले अहिले भीआईपी बढी हिँड्ने र धेरै व्यस्त हुने सडकहरुमा कालोपत्रे गर्न बढी चासो दिएको देखिएको छ ।
भित्री सडकहरुमा छिटो कालोपत्रे गर्न काठमाडौं तथा ललितपुर महानगरपालिकाले पनि चासो दिएका छैनन् ।

काठमाडौं महानगरपालिकाका प्रवक्ता ज्ञानेन्द्र कार्की वर्षा सकिएकाले अब सडकहरु मर्मतसम्भारका लागि टेण्डर प्रक्रियामा रहेको बताउँछन् । उनले सडक मर्मतको जिम्मा दिएपछि ठेकेदारहरुले स्थानीय वडा कार्यलयको मागअनुसार मर्मत अर्न आवश्यक सबै सडकमा काम सुरु हुने बताए ।

पीआईडीले आफ्नो जिम्मामा रहेका सडकमा स्थायी कालोपत्रे कहिले सुरु गर्छ भन्ने पनि निश्चित छैन ।

पीआईडीका निर्देशक तिरेशकुमार खत्री पायपलाइनको काम सकिएपछि सडक पिचमा केन्दि्रत हुने बताउँछन् ।

अब कहिलेसम्म यसरी भत्काइएका सबै सडकहरु पिच गरिसक्ने भन्ने लक्ष्य भने विभाग, महानगर र पीआईडीसँग छैन । मेलम्चीको पाइप बिछ्याउने काम अहिलेसम्म लगभग ९० प्रतिशत सकिएको निर्देशनालय बताउँछ ।

अहिले ७ वटा निर्माण कम्पनीले पाइपलाइन बिछ्याउने कामको ठेक्का लिएर काम गरिरहेका छन् । मेलम्चीले जतिसक्दो काम सक्छ सडक उति छिटो पिच हुने सडक विभागका अधिकारी बताउँछन् ।

सरकारले चैतसम्म मेलम्ची काठमाडौं ल्याइसक्ने बताएको छ । त्यसअनुसार पाइप बिछ्याउने काम भए सडकले पनि वैशाखसम्म नयाँ जीविन पाउने दावी विभागको छ ।

अनलाइनखबरबाट