नेपालमा फूलखेतीः १ अर्ब ७१ करोडको कारोबार तर उपेक्षित

काठमाडौं । नेपालमा वार्षिक करिब पौने दुई अर्ब रुपैयाँ बराबरको फूलको कारोबार हुन्छ । यस क्षेत्रका विज्ञहरु नेपाल भौगालिक र पर्यावरणीय हिसाबले समेत फूल खेतीका लागि उपयुक्त रहेको बताउँछन् ।

फूल खेतीको व्यावसायिक प्रवद्र्धन गर्न सकिए रोजगारी र गरिबी निवारणमा समेत महत्वपूर्ण योगदान पुग्ने उनीहरुको विश्वास छ । तर, नेपालको पुष्पखेती भने अझै पनि उपेक्षित छ । तिहारका बेला भारतबाट फूल भित्र्याउने क्रम रोकिएको छैन ।

 

व्यवसाय प्रवद्र्धनका लागि सहजीकरण नहुनु, परम्परागत खेती प्रणालीका कारण व्यावसायिकता फस्टाउन नसक्नु, व्यवसायी आफैं पनि पुष्पखेतीमा लगानी गर्न हिच्किचाउनुलगायत कारणबाट अथाह सम्भावनाका बावजुद यसले उचाइ पाउन सकेको छैन ।

नेपाल फ्लोरिकल्चर एसोसिएसनका अनुसार नेपालमा सात सयभन्दा बढी संख्यामा पुष्प व्यवसाय सञ्चालनमा छन् । यो संख्या बर्सेनि बढ्दै गएको छ ।

आयात प्रतिस्थापनमा हम्मे

नेपालमा वार्षिक एक अर्ब ७१ करोड रुपैयाँबराबरको फूलको कारोबार हुने एसोसिएसनको भनाइ छ । यसमध्ये १० करोड रुपैयाँबराबरको मालाको कारोबार हुन्छ ।

करिब २० प्रतिशत अर्थात् वार्षिक १० करोड रुपैयाँबराबरको फूल आयात हुन्छ । यसपटक तिहारमा पनि करिब तीन लाख गोटा माला आयात गर्ने तयारीमा छन्, व्यवसायी । तिहारमा करिब १५ लाख गोटा मालाको माग रहेको व्यवसायीको भनाइ छ । तिहारमा हुने कारोबार वर्षभरिको झण्डै एक चौथाइ हिस्सा हो ।

व्यवसायी र सरकारी निकाय दुवैका अनुसार पछिल्लो समय फूलखेतीमा भएको विस्तारले आयात प्रतिस्थापन हुने क्रममा छ । ‘पुष्पखेतीमा भएको सुधार र व्यावसायीकरणका कारण आयात घट्दै गएको देखिन्छ,’ कृषि विकास मन्त्रालयका पूर्वसचिव जयमुकुन्द खनाल भन्छन् । व्यवसायीहरु पनि आन्तरिक उत्पादन बढ्दा आयात प्रतिस्थापन हुन थालेको बताउँछन् ।

अनुपम भूगोल, भएन विकास

तथ्यांक विभागको पुष्पखेती सर्वेक्षण, २०७२ का अनुसार नेपालमा जम्मा एक सय ४७ हेक्टरमा फूलखेती हुन्छ ।

नेपालमा मूलतः पाँचखाले फूल उत्पादन हुन्छ, मौसमी, बहुवर्षे, आलंकारिक, कट फ्लावर र लुज फ्लावर । सयपत्री, पिटुनिया, डाहलिया, जिनिया र प्यान्जी मौसमी फूल हुन् । बहुवर्षेमा गुलाफ, बगानबेली, गोदावरी, एजेलिया र कार्नेसन पर्छन् । धुपी, हेज, पाम, अशोक र एरिका आलंकारिक फूल हुन् ।

कट् फ्लावरमा कार्नेसन, जर्बेना, गुलाफ, ग्याडुलस र क्यालेनडुला पर्छन् भने सयपत्री, लाहुरे, गोदावरी, एकान्ते (सानो सयपत्री) र तारा (कोरेप्सिस) लुज फ्लावरमा पर्छन् ।

एक अर्ब ७१ करोडको वार्षिक कारोबारमध्ये करिब २० प्रतिशत आयातबाट धानिएको छ

राष्ट्रिय योजना आयोगका पूर्वसदस्य डा. हरिकृष्ण उपाध्याय पुष्पखेतीको यथेष्ट विकास गर्न सकिए रोजगारी सिर्जना र गरिबी न्यूनीकरणमा समेत सहयोग पुग्ने बताउँछन् । ‘फूलका लागि नेपालको भूगोल निकै उपयुक्त छ,’ उपाध्याय भन्छन्, ‘उत्पादन वृद्धि गर्ने हो भने यसले ग्रामीण जनताको आर्थिक उपार्जन र आर्थिक उन्नतीमा सहयोग मिल्छ ।’

सामाजिक र धार्मिक घेराबाट फूललाई अब आर्थिक उन्नतीको माध्यमका रुपमा अगाडि बढाउनु जरुरी रहेको उनको ठम्याइ छ ।

आधुनिकीकरणमा कमजोर

नेपालमा फूललाई अझै पनि धार्मिक पूजाआजाको साँघुरो घेराभित्र मात्रै सीमित गरिएको छ । यसलाई व्यावसायिक रुपमा प्रवद्र्धन गर्न सकिए धेरैको आर्थिकस्तर बदलिन सक्छ । तर, पुष्पखेतीको आधुनिकीकरण हुन सकेको छैन । ‘आधुनिक र उच्च प्रविधि भित्र्याउने हो भने उत्पादन अहिलेभन्दा दोब्बर हुनसक्छ,’ एसोसिएसनका अध्यक्ष कुमार कसजु श्रेष्ठ भन्छन् ।

विभागको तथ्यांकअनुसार संख्यात्मक हिसाबमा उपत्यकाका तीन जिल्ला, कास्की र मोरङ बढी फूल उत्पादन हुने क्षेत्र हुन् । काठमाडौंमा दुई सय ८३, ललितपुरमा ४०, मोरङमा २३, कास्कीमा २२ र भक्तपुरमा २० वटा पुष्पखेती सञ्चालनमा छन् ।

३६ जिल्लालाई समेटेर गरिएको उक्त सर्वेक्षणले पाँच सय ६१ जना कृषकले मात्र व्यावसायिक उत्पादन गरेको देखाएको छ ।

त्यसअनुसार पुष्पखेतीलाई व्यावसायिक दृष्टिले हेरिन नसकेको देखिन्छ । पुष्पखेतीमा सबैभन्दा धेरै तामाङ जाति संलग्न रहेको सर्वेक्षणमा उल्लेख छ ।

यो व्यवसायमा सामान्य साक्षर मानिस बढी संलग्न रहेको देखिएको छ । तालिमप्राप्त र दक्ष जनशक्ति यसतर्फ आकर्षित हुन नसकेको सर्वेक्षणमा देखिएको छ । यसको हिस्सा ५४ प्रतिशत छ । खेती गर्ने प्रविधिका हिसाबमा पनि अधिकांशले परम्परागत प्रविधि अपनाएको देखिन्छ ।

समस्या अनेकथरि

एसोसिएसनका अध्यक्ष कसजू पुष्पखेती प्रवद्र्धनका लागि सरकारले यथोचित सहयोग नगरेको गुनासो गर्छन् । यसका लागि सहज र सहुलियत ऋण पाउनै मुस्किल हुने उनी बताउँछन् ।

यस्तै, दक्ष जनशक्ति, सुलभ सिँचाइ र बीउबिजनको अभाव, मूल्य निर्धारणलगायत समस्याका कारण पनि पुष्पखेती आवश्यक मात्रामा प्रवद्र्धित हुन नसकेको उनको ठहर छ ।

आयोगका पूर्वसदस्य उपाध्याय पुष्पखेतीलाई प्रवद्र्धन गर्न सकिए निर्यात गरी विदेशी मुद्रा आर्जनको राम्रो स्रोतसमेत हुने बताउँछन् । ‘पुष्पखेती प्रवद्र्धनका लागि न त अध्ययन अनुसन्धान भयो, न संस्थागत संरचना र पूर्वाधार विकासमा नै ध्यान दिइयो,’ उनी भन्छन् ।

सरकारले यसलाई अन्य अन्नबाली, तरकारी र फलफूलजत्तिकै महत्व दिएर बजेट र अनुदान दिनुपर्ने उनको भनाइ छ ।

पूर्वसचिव खनाल सरकारका तर्फबाट पनि पुष्पखेती प्रवद्र्धनका लागि ध्यान नदिइएको बताउँछन् । सरकारले पुष्प नीति ल्याए पनि त्यसले व्यवसाय प्रवद्र्धनका सबै समस्या समाधान गर्नेगरी सम्बोधन नगरेको उनको भनाइ छ । ‘नीतिलाई पनि प्रभावकारी रुपमा पालना गर्नुपर्छ,’ उनी भन्छन् ।

पुष्प व्यवसाय प्रवद्र्धनका लागि कोल्ड स्टोरेज, बीउविजन, दक्ष प्राविधिकलगायत पूर्वाधारमा ध्यान दिनुपर्ने उनले सुझाए । ठूला लगानी र उपयुक्त बजार व्यवस्थापन पनि पुष्पखेती प्रवद्र्धनका लागि अत्यन्तै जरुरी रहेको उनको भनाइ छ । ‘सर्वप्रथम फूलखेती पनि व्यवसाय हो भनेर चिनाउनु आवश्यक छ,’ उनी भन्छन् । पुष्पखेतीलाई उद्योगकै रुपमा अघि बढाउनुपर्नेमा उनको जोड छ ।

 

अनलाइनखबरबाट