राजपरिवारले सिकार खेलेका दरबारका ओखेटोपहार कुहिँदै

काठमाडौँ । तत्कालीन राजपरिवारले सिकार गरेका वन्यजन्तुको ओखेटोपहार (जीवजन्तुका हाड, छाला आदि)लाई सुरक्षित राख्न उचित पहल नहुँदा प्रायः सबै कुहिएका छन्। ओखेटोपहार कुहिएकाले ती राखिएको घर (फरासखाना) दुर्गन्धित बनेको  छ ।

नारायणहिटी दरबार सङ्ग्रहालयको पश्चिमतर्फ रहेको फरासखानामा ती ओखेटोपहार राखिएका थिए। राजपरिवारले नारायणहिटी दरबार छाडेर गएपछि फरासखाना बेवारिसे बनेको छ। त्यहाँ रहेका ओखेटोपहार सद्दे अवस्थामा छैनन्। नारायणहिटी दरबार सङ्ग्रहालयका प्रमुख रोहित ढुङ्गानाले ओखेटोपहार कुहिएकाले तिनलाई सङ्ग्रहालयमा राख्न नसकिने बताए ।

तत्कालीन राजपरिवारमा सबैभन्दा बढी सिकारको सोख तत्कालीन राजा महेन्द्रमा थियो। त्यसैले फरासखानामा राखिएका ओखेटोपहार बढीजसो राजा महेन्द्रले गरेका सिकारको रहेका छन् । सङ्ग्रहालयमा तत्कालीन राजाहरू त्रिभुवन, वीरेन्द्र, दीपेन्द्रका साथै ज्ञानेन्द्रले सिकारका क्रममा मार्नुभएका वन्यजन्तुको ओखेटोपहार राखिएका छन्। फरासखानामा हात्ती, गैँडा, बाघलगायतका वन्यजन्तुका छाला, हाड, सिङ, खुर छन् ।

राजप्रासाद सेवाका पूर्व कर्मचारीहरूका अनुसार पञ्चायतकालमा देशका विभिन्न स्थानबाट बरामद गरिएका ओखेटोपहार पनि वन विभागमार्फत दरबारमा पठाइन्थ्यो र दरबारले फरासखानामा राख्ने गरेको थियो ।

एक सय वर्षभन्दा अघि निर्माण गरिएको भनिएको सो फरासखानाको भवन निकै जीर्ण छ । विगतमा केही महत्वपूर्ण ओखेटोपहारलाई रसायन राखी सुरक्षित गरिएको थियो। फरासखाना नै बेवारिसे बनेकाले रसायन प्रयोगबाट सुरक्षित बनाइएका भनिएका ओखेटोपहारसमेत कुहिने अवस्थामा पुगेका हुन् ।

नारायणहिटी दरबार सङ्ग्रहालय सर्वसाधारणका लागि खुला गरिँदा त्यस फरासखानालाई समेत खुला गर्ने योजना बनाइए पनि सो कार्यान्वयन हुन सकेन । २०६५ सालमा नेपाली सेनाले त्यस स्थानमा सिंहदरबारबाट ब्यान्ड गुल्म सार्नका लागि नेपाल सरकारबाट निर्णय पनि गराएको थियो तर सो स्थानमा उक्त गुल्मलाई सार्दा उपयुक्त नहुने भन्दै विरोध भएपछि गुल्म सारिएन । हाल राहदानी विभाग रहेको भवनको ठीक उत्तरतर्फ नजिकैमा फरासखाना छ ।

केही वर्षअघि फरासखानाका ओखेटोपहारका बारेमा अध्ययन गर्न एउटा समिति पनि गठन भएको थियो। समितिले काम लाग्ने वस्तुलाई प्रदर्शनीमा राख्ने र नलाग्नेलाई नष्ट गर्ने सिफारिस गरेको थियो । सुरक्षित राख्न चासो नदिइएकाले हाल ती सबै नष्ट गर्नुपर्ने अवस्थामा पुगेको कर्मचारीहरू बताउँछन् ।

त्यस्तै दरबार परिसरमा रहेको त्रिभुवनको पौडी पोखरी (स्विमिङ पुल) भूकम्पका कारण चिरा परेको छ । पौडी खेल्न निकै रुचि राख्ने राजा त्रिभुवनले सो पोखरी निर्माण गर्न लगाउनुभएको थियो। भूकम्पपछि त्यस पोखरीमा पानी पनि छैन ।
दरबारको गाईगोठ र घोडा तबेला राख्ने स्थानमा नेपाली सेनाले सिंहदरबारबाट क्याबलरी सारेको छ। पूर्वराजपरिवारले निर्माण गर्न लगाएको गाईगोठ र घोडा तबेलालाई पनि दीर्घकालमा प्रदर्शनीमा राख्ने योजना सङ्ग्रहालयले बनाए पनि सो क्षेत्र नेपाली सेनाले प्रयोग गरेकाले सर्वसाधारणले ती स्थान देख्न पाउनेछैनन् । गोरखापत्र दैनिक