संविधान संशोधन विधेयकमा हाम्रो समर्थन हुन्नः उपेन्द्र यादव

१५ मंसिर, काठमाडौं । उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरमले संसदमा दर्ता भएको संविधान संशोधन विधेयकलाई समर्थन गर्न नसकिने भनेकाे छ । सरकारले मंगलबार अबेर संसदमा सीमांकन हेरफेरसहित संविधान संशोधन दर्ता गराएको छ । फोरम अध्यक्ष यादवले आफूहरुको माग बमोजिम संशोधन दर्ता नगरेर सरकारले गल्ती गरेको बताएका छन् । संशोधन विधेयकले मधेसी मोर्चा र संघीय गठवन्धनले उठाएका कुनै पनि मागको पूर्ण सम्बोधन गरेको छैन अाज उनले विज्ञप्ति जारी गर्दै भनेका छन् ।

आन्दोलनको मुख्य माग १० प्रदेश र सीमांकनलाई विवादित नै राखिएको यादवकाे भनार्इ छ । मधेसी मोर्चा र संघीय गठबन्धनले उठाएका पाँच जिल्ला झापा, मोरङ, सुनसरी, कैलाली र कञ्चनपुरका विषयमा सम्बोधन गरिएको छैन, यादवले भनेका छन् । राष्ट्रिय सभाबारे गरिएको संशोधन समेत अपूर्ण भएको फोरमले बताएको छ भने यसले राष्ट्रिय सभामा मधेसीहरु कहिल्यै पनि बुहमतमा पुग्न नसक्ने  दाबी समेत गरेकाे छ ।

उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरमले वैवाहिक अंगीकृतलाई वैवाहिक बंशज बनाउनु पर्ने माग गरेको छ । संशोधन प्रस्तावमा वैवाहिक अंगीकृत कै व्यवस्था गरिएको छ । जसअनुसार विवाह गरी नेपाल आएकी महिलाहरु देशको उच्च पदमा जान सक्ने छैन, विज्ञप्तिमा भनिएको छ । हाम्रो आन्दोलन जारी रहनेछ ।’