केसीको जीवनरक्षामा सरकार गम्भीर भएन

काठमाडाै  । १८ दिनदेखि अनसनरत वरिष्ठ चिकित्सक गोविन्द केसीको जीवन जोखिममा परेकाे तर सरकार गम्भीर नभएकाे भन्दै त्रिवि शिक्षण अस्पतालका रेजिडेन्ट डाक्टरले आन्दोलनको दायरा बढाएका छन् । बुधबारदेखि इमर्जेन्सीबाहेक सबै सेवा रोकेर उनीहरूले आन्दोलन चर्काएका हुन्।

केहि समय पहिले शैक्षिक कार्यक्रम बहिस्कार गरी वार्ड र ओपिडिमा सेवा दिइरहेको रेजिडेन्ट डाक्टरहरू अब इमर्जेन्सीमा मात्र संलग्न हुने भएका हुन्।
त्रिभुवन विश्वविद्यालयले चिकित्सा शिक्षा अध्ययन संस्थान (आइओएम)मा कनिष्ठ व्यक्ति केपी सिंहलाई डिन नियुक्त गरेसँगै केसीले अनसन थालेका हुन्। वरिष्ठताका आधारमा डिन नियुक्ति गर्ने चार पाँच वर्षयताको थिति तोडेर त्रिवि उपकुलपति तीर्थ खनियाँले सिंहलाई नियुक्त गरेपछि केसीले सिंह र खनियाँ दुबैको बर्खास्त मागे गरेका छन् ।
वरिष्ठताका आधारमा प्राध्यापक डाक्टर जगदीश अग्रवाल डिन नियुक्त हुनुपर्ने हो तर राजनीतिक दलको भागबन्डामा सिंहलाई नियुक्त गरिएको र देशमा व्याप्त मेडिकल माफियाहरूलाई सहयोग गर्न त्रिवि, दलका नेता लागेको केसीले बताउँदै आएका छन्। तीन महिनामात्र सेवाअवधि भएका सिंहको नियुक्ति राजनीतिक स्वार्थका लागि भएको  अनसनरत केसीको भनाइ छ।