डा. केसीका माग चाँडो सुनुवाइ गर, सम्पादकहरुकाे सवाल

काठमाडाै  । अाज देशका प्रमुख सञ्चारमाध्यमका सम्पादकहरूले डा. गोविन्द केसीले राखेका मागप्रति ऐक्यबद्धता जनाएका छन् । उनीहरुले सरकारको उदासीनताप्रति चिन्ता व्यक्त गरेका छन् । डा. केसीका माग चाँडो सुनुवाइ गर्न सरकार तथा सरोकारवाला पक्षसँग सम्पादकहरूले आग्रह पनि गरेका छन् । स्वास्थ्य सेवा तथा चिकित्सा शिक्षामा व्याप्त विकृति अन्त्यका लागि चार वर्षदेखि पटक पटक आमरण अनसन बस्नु परेको स्थिति औंल्याउँदै सम्पादकहरूले साझा अपिल जारी गरेका हुन् ।
‘हामी उहाँको जीवन रक्षाको माग गर्छौं । सरकार र सरोकारवाला पक्षले उहाँका मागको चाँडोभन्दा चाँडो सुनुवाई गरुन । भविष्यमा उहाँले आफ्नो जीवनलाई संकटमा पार्ने गरी यस किसिमको आन्दोलन उठाउने परिस्थिति नबनोस् भन्ने समेत हाम्रो आग्रह छ,’ सम्पादकहरूको अपिलमा उल्लेख गरेका छन् ।
पहिले अमरण अनसन १९ औं दिन पुग्दासम्म डा. केसीका मागको सुनुवाइ नभएपछि सम्पादकहरूले त्रिवि शिक्षण अस्पताल पुगेर डा. केसीलाई भेटेका थिए। त्यही भेटपछि नै साझा अपिल जारी गरिएको हो ।  साे साझा अपिलमा कान्तिपुरका सम्पादक सुधीर शर्मा, द काठमाडौं पोस्टका अखिलेश उपाध्याय, नागरिकका गुणराज लुइँटेल, रिपब्लिकाका सुवास घिमिरे, द हिमालयन टाइम्सका प्रकाश रिमाल, कान्तिपुर टेलिभिजनका दिलभूषण पाठक, बाह्रखरी डट कमका प्रतीक प्रधान, नेपाल साप्ताहिकका प्रशान्त अर्याल, हिमाल खबरपत्रिकाका किरण नेपाल र सेतोपाटी डट कमका नारायण वाग्लेले हस्ताक्षर गरेका छन् ।