धुर्मुस सुन्तलीलाई मुसहर बस्ती बनाउन ४० लाख रुपैँया सहयोग

काठमाडौं । तेश्रो एकिकृत बस्ती निर्माणको घोषणा गरेको धुर्मुस सुन्तली फाउण्डेशनलाई ४० लाख रुपैँया सहयोग प्रदान भएको छ । प्रकाश कोइरालाको लुरेन्स कन्ट्रक्टीङ एण्ड जेनेरल क्लीनीङ कम्पनीको तर्फबाट एकिकृत नमूना मुसहर बस्ती निर्माणका उक्त सहयोग प्राप्त भएको हो । आठ वर्षदेखि कतारमा कम्पनी सञ्चालन गर्दै आएका प्रकाश कोइरालाले कतारबाट दुबई पुगेर धुर्मुस सुन्तलीलाई सहयोग रकम हस्तान्तरण गरेका छन् ।

नेफ्टा अवार्डमा सहभागी हुनका लागि हाँस्य कलाकार सिताराम कट्टेल तथा कुञ्जना घिमिरे दुबई आउने खबर पाएकाले सहयोग हस्तान्तरणका लागि आफु आएको उनले जानकारी दिएका छन् । उनले गिरान्चौर एकिकृत बस्ती निर्माणका लागि ६ लाख रुपैँया नगद र ३ लाख ३५ हजार बराबरको निर्माण सुरक्षा सामग्री सहयोग गरेका थिए । काम गरेर देखाउनेलाई सहयोग गरे एउटा एउटा गरेर थुप्रै बस्ती निर्माण हुने निश्चित रहेको भनेका छन् ।  उनले सकेको सहयोग गर्न सबैसँग आग्रह गरेका छन् ।

फाउण्डेशनका अध्यक्ष सिताराम कट्टेलले अवार्ड थाप्न विदेश पुग्दा पाएको सहयोगले आफुलाई निकै खुसी बनाएकाे बताएका छन् । देश तथा विदेशमा बस्ने तथा नेपालको भलो चिताउने सबैले विकास चाहेका छन्, त्यो परिर्वतनको महसुस दिलाउन आफुहरु कटिबद्ध भएर लाग्ने उनको दृढता छ ।