काभ्रेमा भएको बस दुर्घटना: ३२ को मृत्यु, घाइते ३५ जनाको राजधानीमा उपचार हुँदै (अपडेट)

काठमाडौँ । काभ्रेमा भएको बस दुर्घटनामा परी मृत्यु हुनेको संख्या ३२ पुगेको छ । मृतक मध्य ३१ जनाको घटना स्थलमै मृत्यु भएको हो भने १ जनाको उपचारको लागि अस्पताल लैजाने क्रममा बाटो मै मृत्यु भएको हो  ।

काठमाडौंबाट काभ्रेको कोशीपारि कात्तिके देउराली जाँदै गरेको बा २ ख १०६ नम्बरको यात्रुबाहक बस विर्तादेउराली–७ खहरेखोला नजिकै दुर्घटनाग्रस्त भएको थियो । क्षमता भन्दा बढी यात्रु बोकेको बस उकालोमा ब्रेक फेल हुँदा दुर्घटना भएको प्रारम्भिक अनुमान गरिएको छ ।

बस सडकबाट करिब ३ सय मिटर तल खसेको थियो  ।  दुर्घटनामा अरु ३५ बढी घाइते भएका छन् । कच्चीबाटोका कारण घाइतेहरुलाई अस्पताल ल्याउन कठिनाइ भएपछि नेपाली सेनाको हेलिकोप्टरमार्फत् २६  जना गम्भीर घाइतेहरुलाई काठमाडौं ल्याइएको छ ।

उनीहरुलाई त्रिवि शिक्षण अस्पताल र ट्रमा सेन्टरमा राखिएको छ । अन्य घाइतेहरुलाई एम्बुलेन्समार्फत् धुलिखेल अस्पताल लगिएको छ ।  बसमा ८० जनाभन्दा बढी यात्रु सवार थिए ।