काभ्रे दुर्घटनाका घाइते भेट्न धुलिखेल पुगे ओली

काठमाडौँ । काभ्रेको विर्तादेउरालीमा हिजो भएको बस दुर्घटनाका घाइते तथा मृतकका परिवारलाई भेट्न निवर्तमान प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी ओली काभ्रे पुगेका छन् ।

ओलीले आज बिहान घाइतेहरुको उपचार भईरहेको बनेपास्थित शिर मेमोरियल र धुलिखेल स्थित धुखिलेल अस्पताल पुगेर घाइतेहरु र मृतकका आफन्तलाई भेटेका हुन् ।   उनले दुर्घटनाका घाईतेको उपचार तथा मृतकका परिवारको लागि आवश्यक सहयोग उपलब्ध गराउन आफुले पहल गर्ने बताए ।

उनले सोमबार पार्टीको बैठक बसिरहेको अवस्थामा दुर्घटनाको दुःखद घटना थाहा पाएको भन्दै उनले बैठकले दुर्घटनामा घाईतेको उपचारका साथै मृतकको ब्यवस्थापनको लागि सरकारको ध्यानकर्षण समेत गरेको बताए ।

दुर्घटनामा मृत्यु भएका सबैको शव शिर मेमोरियल अस्पताल ल्याईए पनि यातायात सेवा समितिबाट कोहि पनि आधिकारिक व्यक्ति उपस्थित नभएपछि अझै पोष्टमार्टम हुन सकेको छैन । अन्य घाइतेहरुको भने काठमाडौँको ट्रमा सेन्टर र शिक्षण अस्पतालमा उपचार भई रहेको छ ।