प्रधानमन्त्रीको पहिलो तलब धुर्मुस सुन्तलीलाई

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो पहिलो महिनाको तलव धुर्मुस–सुन्तली फाउण्डेसनलाई सहयोग गर्ने घोषणा गरेका छन। बुधबार प्रधानमन्त्री निवास बालुवाटारमा धुर्मुस–सुन्तलीसँगको भेटमा प्रधानमन्त्रीले उक्त कुरा बताए।

‘भूकम्पपछि आएको मानवीय बिपत्तिलाई राहत दिन तपाईहरुले चलाएको अभियान प्रशंसनीय छ । यसले देशैभरि सकारात्मक सन्देश गएको छ, यसले एउटा संस्कारकै रुपमा विकास गर्दैछ । म तपाईहरुको अभियानमा सँगै छु । अहिले तत्कालका लागि मेरो पहिलो महिनाको व्यक्तिगत तलव तपाईहरुको फाउण्डेसनलाई सहयोग गर्नेछु ।’ प्रधानमन्त्रीले भने।

प्रधानमन्त्री प्रचण्डले धुर्मुस–सुन्तलीले निर्माण गरेको एकीकृत नमुना बस्तीलाई सरकारले प्राथमिकतामा राखेर काम गर्ने प्रतिवद्धता जनाए । सो अवसरमा धुर्मुस–सुन्तलीले आफूहरुलाई सरकारले सरसफाई दुत नियुक्त गरे पनि सामाजिक अभियानमा गर्नसक्ने सहयोगका लागि पर्याप्त अधिकार नभएको, पूनर्निर्माणले तिब्रता नपाएको भन्दै नयाँ सरकारले यसमा संवेदनशील भएर काम गर्ने आशा लिएको बताए ।