नेविसंघको निर्बाचन आज, कुन कुन पदमा को कसको दाबी ?

काठमाडौँ । लामो समयको प्रतिनिधि बिबादपछि नेपाल विद्यार्थी संघको नयाँ नेतृत्वका लागि आज निर्वाचन हुँदैछ।

नयाँ नेतृत्वका लागि चयनका लागि १ सय २९ पदमा ६ सय ८५ जनाको उम्मेदवारी परेको छ । मददानबाट १ सभापति, ११ उपसभापति, २ महामन्त्री, १३ सहमहामन्त्री, १ कोषाधध्यक्ष र १ सय १ जना केन्द्रीय सदस्य चुनिने छन्। नेविसंघको १ सय ५१ जनाको कार्यसमितिमध्ये २२ जना मनोनित हुनेछन् ।

सभापतिको १ पदका लागि हुने मतदानमा ८ जनाको उम्मेदवारी परेको छ। सभापति पदका उम्मेदवारहरूमा शेरबहादुर देउवा पक्षका नैनसिंह महर, वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका मनोजमणी आचार्य, पूर्वमहामन्त्री खुमबहादुर खड्का पक्षधर शुभराम बस्नेत, पौडेल पक्षकै आनन्दराज त्रिपाठी र लक्ष्मणप्रसाद आचार्यले सभापतिमा उम्मेदवारी दिएका छन् भने बच्चन कार्की, नागेन्द्र कुमार सिंह ठकुरी र तपनराज पन्तको पनि उम्मेदवारी परेको छ।

यस्तै, नैनसिंह महरको प्यानलबाट महामन्त्रीमा कुन्दनराज काफ्ले र सरोज थापाले उम्मेदवारी दिएका छन्। यस्तै, मनोजमणी आचार्यको प्यानलबाट महामन्त्रीमा दीपक भट्टराई र हिमाल दत्त श्रेष्ठले उम्मेदवारी दिएका छन्। यस्तै, राजेश ज्ञवाली र शंकर पौडेलले पनि महामन्त्रीमा उम्मेदवारी दिएका छन्।

नेविसंघको नयाँ नेतृत्वका लागि एक सहमहामन्त्री र पाँच केन्द्रीय सदस्य निर्विरोध निर्वाचित भएका छन्। मधेशी आरक्षण कोटातर्फको सहमहामन्त्रीमा परमेश्वर साहको मात्र उम्मेदवारी परेपछि उनी निर्विरोध निर्वाचित भएका हुन्। यस्तै आरक्षण पाँच क्षेत्रबाट पाँचै जना केन्द्रीय सदस्यमा निर्वाचित भएका छन् ।

केन्द्रीय निर्वाचन समितिका अनुसार छात्रा मुश्लिम आरक्षण कोटाबाट सितारा बानु, अपाङ्ग छात्रा आरक्षणतर्फ कल्पना खड्का, पिछडिएको क्षेत्र छात्रातर्फ सुमित्रा शाही निर्बिरोध निर्वाचित भएकी हुन्। कृषि तथा वन विज्ञान विश्वविद्यालय तर्फ एक केन्द्रीय सदस्य पदस्यमा सरोज रेग्मी निर्विरोध निर्वाचित भए।  २ वटा केन्द्रीय सदस्य आरक्षण कोटामा भने कसैको पनि उम्मेदवारी परेन ।

गत साउन २३ गतेदेखि सुरु भएको महाधिवेशन बुधबार निर्वाचन भएपछि नयाँ नेतृत्व चयन गर्दै सम्पन्न हुनेछ ।