काभ्रे बस दुर्घटनामा मृतक परिवारलाई ६ लाख क्षतिपूर्ति

काठमाडौँ । काभ्रेको बिर्ता देउरालीमा भएको बस दुर्घटनाका पीडित परिवार र अरनिको यातायात सेवा समितिबीच सहमति भएको छ ।

समितिले प्रतिमृतक ६ लाख र घाइतेको निःशुल्क उपचार गर्ने सहमति भएको हो । सहमति भएसंगै मृतकका आफन्तले शव बुझेका हुन् । ज्यान गुमाएकाको आआफ्नो धार्मिक संस्कार अनुसार दाहसंस्कार गर्ने तयारी भैरहेको छ ।

गत सोमवार भएको बस दुर्घटनामा २७ जनाको मृत्यु भएको थियो भने २८ जना गम्भीर घाइते भएका थिए । मृत्यु हुनेहरुमा कात्तिकेदउराली गाविसका ११ जना, मादनकँडारी गाविसका ९ जना, गोठपानीका २ जना, मेच्छेपौवा, बिर्तादेउराली र पोखरीचौरी रामेछापको गुन्सी भदौरे र लखनपुर गाविसका १/१ जना रहेका छन् ।