थप ५२ जनालाई शहिद घोषणा, १० लाख क्षतिपूर्ति

काठमाडौँ । सरकारले मधेश मान्दोलनमा मारिएका ११ सुरक्षाकर्मी र ४१ जना आन्दोलनकारी गरी ५२ जनालाई सहिद घोषणा गरेको छ। मन्त्रिपरिषदको आजको बैठकले उनीहरूलाई सहिद घोषणा गरेको हो।

सहिद घोषणा र क्षतिपूर्तिका लागी मधेसी मोर्चाले सरकारलाई ६८ जनाको नाम प्रस्ताव गरेको थियो। त्यसमा गृह मन्त्रालयले ५२  जनाको नाम प्रस्ताव गरेको हो। ‘५२ जनालाई सहिद घोषणा गर्ने निर्णय भएको छ’ उर्जा मन्त्री जनार्दन शर्माले बताएका छन।

त्यस्तै मन्त्रिपरिषदको बैठकले सहिद घोषणा गरिएका व्यक्तिको परिवारलाई १० लाखका दरले क्षतिपूर्ति उपलब्ध गराउने समेत निर्णय गरेको शर्माले जानकारी दिएका छन।  यस अघि सहिदको सुचिमा समावेश गरिएका भारतीय नागरिक आषिस रामलाई सूचीबाट हटाईएको बताइएको छ। केपी ओली सरकारले मधेस आन्दोलनमा मारिएका ४२ जनालाई राहत दिएको बताइएपनि सरकारले भने क्षतिपूर्तिबारे गृह मन्त्रालयबाट प्रस्ताव आएको यो नै पहिलो भएको बताएको छ ।

आयोग गठन मन्त्रिपरिषदको बैठकले तराई आन्दोलनका क्रममा भएका घटना छानविन गर्न पूर्वन्यायाधीश गिरिशचन्द्र लालको अध्यक्षतामा आयोग गठन गरेको छ ।