आज गाईजात्रा

काठमाडौँ । परम्परागत सांस्कृतिक पर्व गाईजात्रा आज विभिन्न कार्यक्रम गरी मनाइँदैछ ।

एक वर्षभित्र दिवङ्गत भएका आफन्तको सम्झनामा गाई वा मानिसलाई गाईका रूपमा सिङ्गारी आ–आफ्ना इलाकामा परिक्रमा गराउने र उनीहरूलाई श्रद्धालुद्वारा दूध, फलफूल, रोटी, चिउरा, दहीका साथै अन्न र द्रव्य दान गरिन्छ । यसरी नगरपरिक्रमा गर्नाले वर्षभरि मृत्यु भएका व्यक्ति गाईको पुच्छर समाई वैतरणी पार हुन्छन् भन्ने धार्मिक विश्वास छ ।

राजा प्रताप मल्लले पुत्रशोकले बिह्वल भएकी आफ्नी रानीलाई दुनियाँले पनि यस्तै शोक बेहोर्नुपर्छ भन्ने देखाउन “जनतालाई आ–आफ्नो मरेका व्यक्तिका नाममा गाईजात्रा निकाली सहर परिक्रमा गराउनू” भनी आज्ञा दिएकामा यतिले पनि रानीको मन शान्त हुन नसकेकाले विभिन्न प्रकारका प्रहसन तथा व्यङ्ग्यात्मक कार्यक्रम पनि गराउने आदेश दिएअनुरूप सो प्रचलन चलेको हो भन्ने जन श्रुति पाइन्छ ।

भाद्र कृष्ण अष्टमीका दिनसम्म मनाइने यस पर्वका क्रममा प्रहसन, सामाजिक विकृतिप्रति व्यङ्ग्यात्मक प्रदर्शन, नाचगान तथा मृत व्यक्तिको सम्झनामा रामायणको करुण रसका गीतहरू पनि गाइन्छन् ।

गाईजात्रा पर्व काठमाडौँ उपत्यकालगायत बनेपा, धुलिखेल, पनौती, बाह्रबिसे, त्रिशूली, दोलखा, खोटाङ, भोजपुर, चैनपुर, इलाम, धरान, विराटनगर, वीरगन्ज, हेटौँडा र पोखरालगायतका सहरमा पनि मनाइन्छ । गाईजात्राका अवसरमा काठमाडौँ उपत्यकामा सार्वजनिक बिदा दिएको छ ।