गोविन्द केसीका समर्थकद्वारा बालुवाटारमा धर्ना

काठमाडौँ  । सरकारसंग भएको सम्झौता कार्यन्वयनमा दबाब दिनका लागि डा. गोविन्द केसी र समर्थकले शनिबार प्रदर्शन गरेका छन। प्रधानमन्त्रीलाई पछिल्लो पटक गरिएका सम्झौता कार्यन्वयन गर्नका लागि बालुवाटार अगाडि ‘उभिएर दबाब’ दिएका हुन् ।

आठौँ अनशनको १६ औँ दिनमा साउन ९ गते सरकार र डा. केसीबिच चार बुँदे सहमति भएको थियो । सरकारले सहमति कार्यान्वयनमा चासो नदेखाएको डा. केसीको आरोप छ ।

गत साउन २९ गते प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसंग भेट गरी सरकारसंग भएका सम्झौता र संसदमा दर्ता भएको चिकित्सा शिक्षा ऐन संशोधन गर्नुपर्ने माग समेटिएको ६ बुँदे मागपत्र बुझाएका थिए।

शिक्षा ऐनमा संशोधन गरिनुपर्ने, पाँच वर्षभित्र सरकारी शिक्षण संस्थामा मेडिकल स्नातकोत्तर (पिजी) ७५ प्रतिशत निःशुल्क हुनुपर्ने, काठमाडौं उपत्यकामा १० वर्षभित्र नयाँ मेडिकल कलेजलाई सम्बन्धन दिन नहुने, हरेक प्रदेशमा एउटा सरकारी मेडिकल कलेज स्थापना हुनुपर्ने, मेडिकल कलेज कम्पनी ऐनअनुसार दर्ता हुने प्रावधान खारेज गरी सेवामूलक ऐनअनुसार दर्ता हुनुपर्ने लगायतका माग राख्दै ड़ा केसी आठौ पटक आमरण अनशन बसेका थिए।

राज्यलाई बेलैमा दबाब दिन र डा केसीलाई  नवौंपल्ट अनसन बस्नुपर्ने अवस्था आउन नदिन यो दबाब डा. गोविन्द केसी एक्केबद्दता अलायन्सबाट आयोजना गरिएको अभियन्ता शशि विक्रम कार्कीले जानकारी दिए ।

सम्झौताहरुको कार्यान्वयनका लागि दबाब दिन प्रधानमन्त्री निवास अगाडि नागरिकहरु भेला भइ जवाफ मागेका छन् । भेलामा उपस्थित समर्थकहरु संसद किन जिम्मेवारीबाट चुक्दैछ ?, चिकित्स शिक्षा ऐन संसदबाट पारित गर्ने काम कति अघि बढ्यो ?,माथेमा प्रतिवेदन के भयो ?, लोकमान सिंह कार्कीबारे किन यस्तो लाचारीपूर्ण मौनता ? भन्नेबारे प्रश्न राखेका छन ।