नैतिकतामा आधारित व्यावहारिक शिक्षामा हाम्रो जोड- नेविसंघ अध्यक्ष महर

काठमाडौँ । नवनिवार्चित नेपाल विद्यार्थी सङ्घ (नेविसङ्घ)का पदाधिकारीले आफूहरु राजनीतिक मुद्दाभन्दा शैक्षिक विषयमा केन्द्रित भएर काम गर्ने स्पष्ट पारेका छन् ।

रिपोर्टर्स क्लब नेपालले शनिबार आयोजना गरेको बधाई कार्यक्रममा उनीहरुले अबको नेविसङ्घले राजनीतिक दिशा परिवर्तन गरेर वर्गीय शिक्षाका मुद्दा उठान गर्ने बताए । अध्यक्ष नैनसिंह महरले आफ्नो दुईवर्षे कार्ययोजना पेस गर्दै आफूहरु शिक्षा र स्वास्थ्यजस्ता जनताका आधारभूत आवश्यकता निःशुल्क गराउन पहल गर्ने बताए।

महरले देशमा जातीय, क्षेत्रीय र धार्मिक सहिष्णुता कायम गराउनेखालको शिक्षा नीति आफूको माग भएको बताउँदै भने,‘नैतिकतामा आधारित व्यावहारिक शिक्षामा हाम्रो जोड हुनेछ ।’ छात्रातर्फकी निर्वाचित उपाध्यक्ष उर्मिला थपलियाले निजी र सरकारी विद्यालयबीचको खाडल, चन्दा आतङ्कजस्ता विषयमा आफूको ध्यान केन्द्रित हुने बताइन्।

महामन्त्री सरोजकुमार थापाले अध्यक्ष र अन्य पदाधिकारीले महाधिवेशन दौरान उठाएका मुद्दा बन्दसत्र नभएकाले छलफल हुन नपाएकामा दुःख व्यक्त गर्दै अब नेविसङ्घको पहिलो बैठकबाट पारित गराउने प्रतिबद्धता व्यक्त गरे।

उनले आठौँ शिक्षा संशोधन ऐन सहीरुपमा कार्यान्वयन गर्न अग्रसर हुने बताउँदै सङ्गठनभित्र अपारदर्शी काम गर्ने सबैलाई अनुशासनको कारबाही गर्ने दृढता व्यक्त गरे। थापाले अवरुद्ध रहेको स्ववियु निर्वाचन चाँडै गर्ने प्रतिबद्धता व्यक्त गरे। उनले अघि थपे, ‘नेविसंघको नयाँ नेतृत्वले अन्य विद्यार्थी संगठन समेत छलफल गरेर स्ववियु निर्वाचनको तयारी अब सूरु गर्छ, त्रिवि पदाधिकारीहरुसँग समेत हामी यसविषयमा कुरा राख्छौं।’

त्यस्तै अर्का महामन्त्री कुन्दनराज काफ्लेले आन्तरिक लोकतन्त्रको सुदृढीकरण, योग्यता र क्षमताको प्रतिस्पर्धा आदि कुरामा आफूले जोड दिने बताए ।