साझा पम्प र पाँच वटा पोलिक्लिनिकमा सिलबन्दी

काठमाडौँ । आपूर्ति व्यवस्था तथा उपभोक्ता हित संरक्षण विभागको अनुगमन टोलीले सोमवार पुल्चोकस्थित साझा सहकारी संस्थाले सञ्चालन गरेको साझा पेट्रोल पम्पमा सिलबन्दी गरेको छ ।

टोलीले डिजेल बेच्दा कम परिमाण भेटिएको भन्दै साझा पेट्रोल पम्पमा सिलबन्दी गरेको हो । अनुगमन टोलीले कुमारीपाटीमा रहेको माया पेट्रोल पम्पमा पनि सिलबन्दी गरेको छ ।

सोमवार नै औषधी व्यवस्था विभाग, जिल्ला जनस्वास्थ्य कार्यालयसहितको अनुगमन टोलीले भक्तपुरका सातवटा पोलिक्लिनिकमा अनुगमन गरेको छ । अरनिको हाइवे पोलिक्लिनिक, अरनिको हाइवे पोलिक्लिनिक फार्मेसी इकाइ, एसएस क्लिनक गठ्ठाघर, सम्झना ल्याबरोटोरी, गठ्ठाघर अल्ट्रासाउण्डमा अनुगमनपछि सिल गरेको छ । पाँचवटाले दर्ता नगरी चलाएको पाइएको विभागले जनाएको छ ।