बर्दियामा गोली हानाहान

काठमाडौँ । बर्दियामा राष्ट्रिय निकुञ्जको सुरक्षार्थ गस्तीमा हिँडेका सुरक्षाकर्मी र शिकारीबीच गोली हानाहान भएको छ ।

निकुञ्जको भास तालदेखि पूर्वमा पर्ने घट्टेकुला नजिक सुरक्षाकर्मी र शिकारीबीच बुधबार साँझ गोली हानाहान भएको हो ।

बाँसगढी नगरपालिकादेखि उत्तरमा पर्ने चुरे पहाड हुँदै बबई उपत्यकातर्फ गस्तीमा हिँडेका सुरक्षाकर्मीको टोलीमाथी शिकारीले ३ राउण्ड गोली चलाएपछि जवाफमा सुरक्षाकर्मीको टोलीले गोली चलाएको हो ।

दोहोरो गोली हानाहान भएलगत्तै शिकारी भागेको सुरक्षाकर्मीले जनाएका छन् । घटनास्थलबाट ५० किलो चित्तलको सुकुटी, १ थान भरुवा बन्दुक, शिकारमा प्रयोग गरिने बन्दोवस्तीका सामाग्री बरामद गरिएको छ ।