प्रतिबन्धमा परेका नेपाली फुटबलरको अपिल खारेज

काठमाडौँ । म्याच फिक्सिङपछि आफु बिरुद्द लागेको आजीवन प्रतिवन्धविरुद्ध चार नेपाली फुटबल खेलाडी तथा एक प्रशिक्षकले गरेको अपील खारेज भएको छ ।

प्रतिबन्धमा परेका नेपाली फुटबलरले गरेको अपिललाई एशियाली फुटबल महासंघ एएफसीको अपिल कमिटिले खारेज गरेको छ ।  कमिटीको आज बसेको बैठकले उनीहरुले प्रतिबन्ध फुकुवाका लागि गरेको अपिल खारेज गरिदिएको हो । अफिसियल तथा पूर्व खेलाडी अन्जन केसी तथा खेलाडीहरु सागर थापा, सन्दिप राइ, विकास सिंह क्षेत्री र रितेश थापालाई प्रहरीले म्याच फिक्सिङको आरोपमा पक्राउ गरेपछि एएफसीले उनीहरुमाथि आजिवन प्रतिबन्ध लगाएको थियो ।

उनीहरु माथि  सन् २००८ देखि २०१२ को बीचमा भएका विभिन्न प्रतियोगिताहरुमा म्याच फिक्सिङ्ग गरेको आरोप लागेको थियो ।  कमिटीको निर्णयपछि उनीहरुको प्रतिबन्ध फुकुवा नहुने भएको छ । साथै उनीहरुलाई जनही १ हजार अमेरिकी डलर जरिवाना तिर्न समेत निर्देशन दिइएको छ ।