स्वास्थ्य मन्त्री गगन थापाको ४ निर्णय

काठमाडौँ । नव नियुक्त स्वास्थ्य मन्त्री गगन थापाले पदभार ग्रहण गरेका छन् । शुक्रबार बिहान सपथ लिएका थापाले पदभार ग्रहण गर्दै आफू असफल भए सिंगोपुस्ताप्रतिकै विश्वास गुम्ने बताएका छन् ।

पदभार ग्रहण गर्दै उनले भने, ‘मप्रतिको विश्वास भनेको एउटा पुस्ताप्रतिको विश्वास हो । त्यसैले मैले त्यो विश्वास तोड्नुहुन्न ।’  उनले  काम गर्ने क्रममा उच्च नैतिकता र सम्पूर्ण क्षमता देखाउने प्रतिबद्धता जनाए ।   उनले स्वास्थ्य क्षेत्र सुधारको अपेक्षा आफूप्रति रहेको बताउँदै भने, ‘मप्रति सुधारको अपेक्षा छ । किनकि म यही आन्दोलनसँग जोडिएर आएको व्यक्ति हुँ ।’ उनले आफु सधै सत्यका पक्षमा उभिने प्रतिबद्धता जनाएका छन् ।  उनले पदभार ग्रहण गरेकै दिन बैदेशिक रोजगारीमा जाने युवाहरुको स्वास्थ्य परीक्षण रिपोर्ट गलत हुने गरेको विषयमा छानविन गर्न   विशेषज्ञ समिति गठन गर्ने निर्णय गरेका छन् । गलत रिपोर्टकाका कारण बैदेशिक रोजगारीमा जाने धेरैले दुःख पाइरहेकाले समितिले छानविन गरी गलत रिपार्ट दिने संस्थालाई कारबाहीको दायरामा ल्याउने उनले बिश्वास लिएका छन् ।

समितिमा स्वास्थ्य मन्त्रालयको तोकेको राजपत्र अंकित प्रथम श्रेणीका चिकित्सक अध्यक्ष रहनेछन् । त्यस्तै मेडिकल काउन्सिलका एक चिकित्सक, श्रम तथा यातायात मन्त्रालयका कानून अधिकृत, नेपाल स्वास्थ्य व्यवसायी महासंघको अध्यक्ष वा प्रतिनीधि र वैदेशिक रोजगारीबाट फर्किएको मध्येबाट एक जना सदस्य रहनेछन् ।

नेपाली कांग्रेसका युवा नेता धेरै आशा गरिएका मन्त्री हुन्  । स्वास्थ्य क्षेत्र सुधारका लागि आन्दोलन गरिरहेका डा. गोबिन्द केसीको मागमा पूर्ण समर्थन जनाएका थापाबाट नेपालीहरुले तुलनात्मकरुपमा धेरै आशा गरेका छन् ।