बस दुर्घटना: मृतक मध्ये ७ जनाको सनाखत (अपडेट)

काठमाडौँ । शुक्रबार बिहान मुग्लिनमा भएको बस दुर्घटनामा परी ज्यान गुमाउनेको संख्या २१ पुगेको छ  । चितवनका प्रहरी प्रमुख बसन्त कुँवरका अनुसार २० जनाको घटनास्थलमै र एक जनाको उपचारका क्रममा चितवन मेडिकल कलेजमा मृत्यु भएको हो  ।

मृतक मध्ये ७ जनाको सनाखत भएको छ ।सनाखत हुनेहरुमा रौतहट महमदपुर ८ का २४ वर्षीय प्रमोद राम, रौतहट लौकाहाका राकेश यादव, कटारीया ९ रौतहटका ३४ वर्षीय व्रजकिशोर कुसवाहा, बसन्तपुर १ का २५ वर्षीय गणेशकुमार साह रहेका छन् ।

यसैगरी मधुवल्ला ३ का ३७ वर्षीय चितरञ्जन यादव, मधुवल्ला ६ का ३३ वर्षीय राजेशकुमार यादव र ठेगाना नखुलेको तर नेपाल खानेपानी संस्थानको कार्यालय सहायकको परिचयपत्र भएको जोकु साहको शव फेला परेको छ ।

रौतहटबाट पोखराका लागि छुटेको ग १ ख ३७०९ नम्बरको  यात्रुबाहक बस त्रिशुली नदीमा खसेर डुबेको हो ।  दुर्घटनामा अन्य १६ जना घाइते भएका छन्  । जस मध्ये बसका सह चालक सहित ८ जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । दुईजना नदीमा हराइरहेको आशङ्का गरिएको छ । उनीहरुको खोजी कार्य जारी रहेको छ ।

नेपाली सेना, सशस्त्र र नेपाल प्रहरीको टोली घटनास्थलमा उद्धारमा खटिएका छन् । घाइते दुई वर्षिया एक बालिकाको मुग्लिनमा तथा ९ जनाको भरतपुरमा रहेको नयाँ मेडिकल कलेजमा र २ जनाको भरतपुरमै रहेको पुरानो मेडिकल कलेजमा उपचार भइरहेको छ ।