बालुवाटार बैठकमा झण्डै हात हालाहाल

काठमाडौँ  । प्रधानमन्त्री प्रचण्डले बोलाएको बालुवाटार बैठकमा नेताहरु बीच झन्डै हात हलाहलको तनाब सिर्जना भएको छ ।

संविधान संशोधनसहित मुख्य तीन विषयमा छलफल गर्न बालुवाटारमा बोलाएको तीन दलको बैठकमा उपप्रधानमन्त्री एवम् गृहमन्त्री विमलेन्द्र निधि र नेकपा एमाले उपाध्यक्ष भीम रावलबीच विवाद भएको हो ।

बैठक चलिरहेका बेला संविधान संशोधनको विषयमा छलफल हुँदा रावलले उपप्रधानमन्त्री निधिको भारत भ्रमणका सन्दर्भमा दिल्लीस्थित नेपाली दूतावासले जारी गरेको प्रेस विज्ञप्ति पढेर सुनाए । उनले विज्ञप्ति पढ्दै नेपालको संविधान संशोधन गर्ने विषय भारतमा गएर छलफल गरेको भन्दै गम्भिर आपत्ति जनाए ।  रावलको कुरा नसकिँदै निधि रावलमाथि खनिएका हुन्  ।

बैठकमा सहभागी एक नेताका अनुसार रावलले निधिलाई विदेशीले फन्डिङ गरेको प्रमाण देखाउन चुनौति दिएका थिए । निधिले पनि आफूसँग प्रमाण रहेको दाबी गरे । रावलले प्रमाण देखाउनुस् भन्दै आक्रोश व्यक्त गर्दा झण्डै हात हालाहालको अवस्था आउन खोजेको थियो ।

यो विषयलाई प्रधानमन्त्री प्रचण्ड सहितका अन्य नेताहरुले नतन्काउन आग्रह गर्दै हस्तक्षेप गरेका थिए ।