२ दिन पनि टिकेन खादा प्रतिबन्ध लगाउने निर्णय

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले आफ्नो मातहतका कार्यालयमा विदेशी खादाको प्रयोग गर्न प्रतिबन्ध लगाएको निर्णय २ दिनमै उल्टिएको छ ।

मन्त्रालयका सचिव प्रेमकुमार राईले गरेको उक्त निर्णय संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनबहादुर शाहीले उल्ट्याईदिएका हुन् ।  मन्त्री शाहीले आज सचिव राईलाई निर्णय कायवन्यन नगर्न नगराउन निर्देशन दिएका हुन् । नेपाल आदिवासी जनजाति महासंघमा आवद्ध संघसंस्थाहरुले आज दिउँसो मन्त्री शाहीलाइ भेटि तुरुन्त निर्णय फिर्ता नगरे देशब्यापि आन्दोलन गर्ने चेतावनी दिएपछि उनले निर्णय उल्ट्याएका हुन् ।

मन्त्री शाहीले यो बिषय धर्म तथा संस्कृतिसंग सम्बन्धित भएको र  विवाद बढ्दै जाँदा धार्मिक द्वन्द्व हुन सक्ने भएपछि आफूले निर्णय कार्यान्वयन नगर्न निर्देशन दिएको उनले बताए । वातावरण प्रदुषित हुने र राज्यकोषबाट वार्षिक करोडौं रकम बाहिरिने भन्दै मन्त्रालयका सचिव प्रेमकुमार राईले मन्त्रालय मातहतका कार्यालय र विभागहरुलाई विदेशी खादा प्रयोग नगर्न निर्देशन दिएका थिए ।