नेपालमाथिको प्रतिबन्ध हटाउन आइसीसीको यस्तो तयारी

काठमाडौँ  ।  अन्तराष्ट्रिय क्रिकेट काउन्सिल आइसीसीका सीइओ डेभिड रिचर्डसनले नेपाल क्रिकेट सघंमाथि लागेको प्रतिबन्ध ९ महिना भित्र हट्ने बताएका छन् । आइतबार राजधानीको सोल्टी होटलमा आयोजित पत्रकार सम्मेलनमा रिचर्डसनले आगामी दुई हप्तामा आइसीसीको  मातहतमा नेपालमा सल्लाहकार समिति बनाईने त त्यस समितिको सुझाव अनुसार अघि बढ्ने बताए  ।

समितिको नेतृत्व आइसिसीका दक्षिण एसियाली डेभलपमेण्ट अफिसर अमर शेखले गर्नेछन् । आइसीसीका तत्कालीन ग्लोबल डाइरेक्टर टिम एण्डरसनको स्थानमा अर्को व्यक्ति आएपछि उनले यसको नेतृत्व गर्नेछन् । समितिमा सरकार, राष्ट्रिय खेलकुद परिषद् र क्रिकेटका सरोकारबाला पक्ष रहनेछन् ।  त्यस ९ महिने अवधिमा समितिले क्यानको वर्तमान विधान पुनरावलानेकन गरी संशोधन गर्ने कि नयाँ ल्याउने भनेर आइसीसीलाई सुझाव दिने छ ।  सुझाव अनुरुप समितिले क्रिकेट संघको विधान पुनरावलोनक गर्ने छ।  विधान पुनरावलोन गरी जुन २०१७ भित्र नयाँ निर्वाचन गरिसक्ने र प्रतिबन्ध फुकुवा गर्ने आइसीसीको तयारी छ  ।

 नेपालको विवाद मिलाउन सीइओ डेभिड रिचर्डसन, एसोसिएट्स देश हेर्ने कमिटिका प्रमुख इमरान खार्जुआ तथा आइसिसीका दक्षिण एसियाली डेभलपमेण्ट अफिसर अमर शेखसहितको टोली नेपाल भ्रमणमा छ । टोलीले आइतबार बिहान प्रधानमन्त्री , खेलकुद मन्त्रीसहितलाई भेटेको थियो  ।  भेटमा  सरकारले भने क्रिकेट विकास बोर्ड गठनको प्रस्ताव गरेको थियो ।

रिचर्डसनले  जुन २०१७ मा नेपालमा क्रिकेट सामान्य हुने गरी काम गर्ने, चुनावमा सहयोग गर्ने, र  नयाँ कमिटी आएपछि मात्र निलम्बन हट्ने पनि प्रष्ट पारेका छन् । नेपाली क्रिकेटमा विवाद देखिएपछि आईसीसीले झण्डै चार महिनाअघि निलम्बन गरेको थियो ।

सिइओ रिचर्डसनले नेपाललाई दिने भनिएको १० करोड रुपैयाँ पनि नदिइने स्पष्ट पारेका छन् । तर उनले आईसीसीले गर्ने अन्य साना सहयोग भने जारी रहने बताएका छन् ।