दसैँमा विप्लव माओबादीको बन्द

काठमाडौँ  । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा (माओवादी) ले संघर्षका बिभिन्न कार्यक्रम तय गरेको छ । पार्टीले जनजिविकाका मुद्दा अघि सारेर संघर्षका कार्यक्रम तय गरेको हो ।

काठमाडौँमा आज आयोजित पत्रकार सम्मेलनमा यही भदौ ११ गतेदेखि १४ गतेसम्म बसेको पार्टीको केन्द्रीय समितिको पूर्णबैठकले  संघर्षका बिभिन्न कार्यक्रम पनि तय गरेको प्रबक्ता खड्गबहादुर विश्वकर्मा (प्रकाण्ड)ले जानकारी दिए । बैठकले आफ्ना मागसहितको ज्ञापनपत्र सरकारलाई भदौ २२ गते बुझाउने पनि बताएको छ । माग पुरा गराउन पार्टीले भदौ २० देखि २५ गतेसम्म पहिलो चरणको संघर्षका कार्यक्रम गर्ने भएको छ ।

जस अनुसार भदौ २८ गते देशव्यापी मशाल जुलुस र असोज ५ गते आपूर्ति मन्त्रालय घेराउ गर्ने कार्यक्रम पार्टीले तय गरेको छ  । त्यस्तै असोज २५ गते बिजय दशमीको दिन देशव्यापी एक घण्टा (विहान ९ देखि १० बजेसम्म) चक्काजाम गर्ने र  कात्तिक २८ गते नेपाल बन्द गर्ने विप्लव माओवादीले जनाएको छ ।

पार्टीले दाल, चामल, तेल, चिनी, पिठो, दूध, तरकारी, फलफुल, मासु र मसलाको मूल्य ५० प्रतिशत घटाउन माग गरेको हो। पार्टीले सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गरी पेट्रोलको मूल्य प्रतिलिटर ४८ रुपैयाँ, डिजेलमा २५ र खाना पकाउने ग्यासमा ३ सय ७८ रुपैयाँ घटाउन माग गरेको छ।

नेकपा माओवादीले आफ्नो आठौं महाधिवेशन आगामी  फागुन १ गतेदेखि ७ गतेसम्म गर्ने निर्णय पनि गरेको छ । महाधिवेशनको उद्घाटन सत्र काठमाडांैंको खुलामञ्च र बन्दसत्र रोल्पाको थवाङमा गर्ने निर्णय गरेको प्रवक्ता विश्वकर्माले जानकारी दिए। थवाङ माओवादी जनयुद्धको उदगम थलो हो ।

विप्लव माओवादीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा (प्रकाण्ड)ले महाधिवेशनको तयारीस्वरुप मंसिर महिनासम्म गाउँ, नगरको सम्मेलन र पुसमा जिल्लाको सम्मेलन सक्ने बताएका छन् ।