आज ऋषिपञ्चमी पर्व मनाइदै

काठमाडौँ ।  ऋषिपञ्चमी पर्व मंगलबार सप्तर्षिको पूजा गरी वैदिक हिन्दू धर्मावलम्बी महिलाले मनाउँदैछन् । बिहानै उठेर महिलाहरु नजिकको नदी, खोला, ताल, तलैया र पोखरीमा गई ३ सय ६५  दतिवनले दाँत माझ्ने, गाईको गोबर, माटो र खरानी लगाई स्नान गर्छन् ।

रजस्वलाको समयमा छाइछुइ लगायत कुनै त्रुटी भएको भए ऋषिपञ्चमीको दिन अरुन्धतीसहित सप्तर्षिको पूजा गर्नाले त्यसबाट मुक्ति पाइने धार्मिक विश्वास छ । आजको दिन दतिवन, गाईको गोबर, माटो र खरानी प्रयोग गरी स्नान गरेर पञ्चगव्य सेवन गर्नाले दोष निवारण हुन्छ भन्ने शास्त्रीय वचन रहेको छ ।

यसरी स्नान गरेपछि दियो, कलश, गणेश स्थापना गरी अरुन्धतीसहित अत्रि, गौतम, भारद्वाज, जमदग्नि, वशिष्ठ, कश्यप र विश्वामित्रको पूजा गर्ने गरिन्छ जसलाई ऋषि पञ्चमीको पूजा लगाउने भनिन्छ । सप्तर्षिको पूजा गर्ने पञ्चमी भएकैले आजको दिनलाई ‘ऋषिपञ्चमी’ भन्ने गरिएको हो ।

सुयोग्य र गुणसम्पन्न सन्तान प्राप्तिका लागि पनि ऋषिपञ्चमीको व्रत एवम् पूजा आवश्यक भएको धर्मशास्त्रविद्को भनाइ छ ।