१४ बोरा चरेससहित एकजना पक्राउ

काठमाडौँ । जिल्ला प्रहरी कार्यालय चितवनले १४ बोरा लागु औषध चरेससहित एक जनालाई  पक्राउ गरेको छ । विशेष सुराकीको आधारमा चितवन प्रहरीले १४ वटा बोरामा राखिएको दुई सय ८० किलो चरेस बरामद गरेको  जिल्ला प्रहरी प्रमुख एसपी बसन्तबहादुर कुँवरले बताउनुभयो ।

धादिङबाट मुग्लिनका लागि छुटेको ना ३ ख ६३५२ नम्बरको ट्रकमा रहेको चरेस र ट्रकका चालक मकवानपुर जिल्लाका कुमार सिंह गोलेलाई पक्राउ गरेको कुँवरले बताउनुभयो ।

यसैगरी वीरगञ्जबाट काठमाडौँका लागि छुटेको ना ५ ख ३५०३ नम्बरको बसमा प्रहरीले चेकिङ गर्दा २५ किलो गाँजासहित तीन जनालाई पक्रा गरेको छ । पक्राउ पर्नेमा मकवानपुर, हेटौँडा नगरपालिका–२८ का जीवराज बुलन, हाँडीखोला–५ का दीपक लामा र बसका चालक हेटौँडा नगरपालिका–२९ का ईश्वर अर्याल रहेका छन ।