विश्वकप छनौट: पोर्चुगललाई पहिलो गाँसमै ढुङ्गा

काठमाडौँ  । पोर्चुगलले विश्वकप छनौटमा खराब सुरुवात गरेको छ। रुसमा हुने विश्वकप २०१८ का लागी स्विट्जरल्यान्डको बसेलमा मंगलबार राती भएको खेलमा पुर्चुगल स्वीट्जरल्याण्डसँग २–० ले पराजित भएको छ।  क्रिष्टियानो रोनाल्डो बिनानै मैदानमा उत्रिएको पोर्चुगल बिरुद्द स्विट्जरल्यान्डका ब्रिएल एमबोलो र अहमद मेहमेदीले समान एक एक गोल गरे ।

२३ औं मिनेटमा एमबोलोको गोलबाट स्वीट्जरल्याण्डले सुरुवाती अग्रता लिएको थियो । त्यसपछि खेलको ३० औं मिनेटमा मेहमेदीले स्वीट्जरल्याण्डको अग्रता दोब्बर पारे  इन्जुरी समयमा ग्रानिट जाका दोहोरो पहेँलो कार्ड खाँदै मैदानबाट बाहिरिएपछि स्विस टोलि १० जना खेलाडीमा सिमित भएपनि पोर्चुगलले यसको फाइदा उठाउन सकेन। हारसंगै समूह सी मा रहेको पोर्चुगल अंकबिहिन बनेको छ। स्विट्जरल्यान्ड भने जितसंगै ३ अंकसहित शिर्ष स्थानमा रहेको छ।

गए राती भएको अर्को खेलमा फ्रान्स बेलारुससँग गोलरहित बराबरीमा रोकिएको छ । युरोकपमा पोर्चुगलसंग पराजित फ्रान्स विश्व कपको छनौटको पहिलो खेलमै घरेलु टोली बेलारुससंग बराबरीमा रोकिएको हो । समूह एमा रहेको फ्रान्सले मगलबार राती बेलारुसबिरुद्ध गोलको अवसर पाएपनि गोल गर्न नसक्दा अंक बाड्न बाध्य बन्यो। बराबरीमा  रोकिएसंगै समुह ए मा रहेको फ्रान्स एक अंक जोड्दै तालिकाको पाचौ स्थानमा छ ।

त्यस्तै मंगलबार राती लग्जेम्बर्गलाई ४–३ ले हराएको बुल्गेरिया समूह एको शीर्ष स्थानमा छ । यस्तै मंगलबार राती भएको यसै समुहमा स्वीडेन र नेरदल्याण्डसले पनि १–१ को बराबरी खेल्दै अंक बाँडेका छन् ।