चन्द्रागिरीमा लुटेरा र प्रहरीबीच गोली हानाहान

काठमाडौँ । चन्द्रागिरीमा प्रहरी र लुटेरा समूहबीच गोली हानाहान भएको छ। चन्द्रागिरी नगरपालिका १ चिहानडाँडामा सुमोमा रहेका लुटेरा समूह र प्रहरीबीच आज बिहान ५ बजेर २२ मिनेटतिर गोली हानाहान भएको प्रहरी स्रोतले जनाएको छ।

उक्त लुटेरा समुहलाई पछ्याउने क्रममा लुटेराहरुबाट २ राउण्ड  गोलि फायर भएको र प्रहरीले पनि २ राउण्ड गोलि चलाएको काठमाडौं प्रहरीका एसपी प्रद्युम्न कार्कीले बताए। यद्दपी दुवै तर्फ कुनै क्षती नभएको उनले बताए।  लुटेरा समूह भने चिहानडाँडामा बा १ ज ३९४८ नम्बरको सुमो छाडेर जंगलतिर पसेका छन।

सुमोमा बन्द अवस्थामा रहेको सेफ फेला परेको एसपी कार्कीले बताएका छन।  लुटेरा समुहले कुनै बैंक तथा वित्तीय संस्था वा सुनचांदी पसलमा रहेको सेफ लुटेको हुन सक्ने अनुमान प्रहरीको छ। यसबारे अनुसन्धान भैरहेको एसपी कार्कीले बताए।

काठमान्डौबाट घटनास्थलमा थप प्रहरी पुगेको र अहिले जंगललाई घेरा हालेर सर्च अप्रेशन चलाइएको बताइएको छ ।