धर्मनिरपेक्षता खारेज गर्नुपर्छ- थापा

काठमाडौं । राप्रपा नेपालका अध्यक्ष कमल थापाले मधेशका माग सम्बोधन गर्न सविधान संसोधन गरीए आफ्नो माग सम्बोधन गर्न पनि संविधान संसोधन गरिनु पर्ने धारणा राखेका छन् । राप्रपा नेपालले शुक्रबार बिहान बुटवलमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष थापाले अब हुने संविधान संशोधनमा हिन्दू राज्य पुनःस्थापना गरी धर्मनिरपेक्षता खारेज गर्न माग गरेका हुन् ।

उनले  संशोधनमा नभए जनमत सङ्ग्रहमा जान पनि तयार रहेको बताएका छन्। दलहरुबीच सहमति नभए संविधान संशोधन हुन नसक्ने भन्दै अध्यक्ष थापाले काँग्रेस, माओवादी र मधेसवादी दलले मात्र दुई तिहाइ बहुमत पुर्‍याउन नसक्ने उनले बताए । ‘संशोधनका लागि कि त एमाले कि त राप्रपा नेपाल नै चाहिन्छ,’ उनले भने, ‘सरकारले अहिलेसम्म आफ्नो दलसँग कुनै प्रकारको छलफल गरेको छैन ।’

 सरकारले तीन तहको निर्वाचनका लागि पर्याप्त रुपमा तयारी नगरेको उनको आरोप छ । देशमा समयमै निर्वाचन नभए संवैधानिक रिक्तता आउने भन्दै त्यसो भए मुलुक दुर्घटनातर्फ धकेलिने थापाको भनाइ छ ।