प्रधानमन्त्रीलाई एमालको छ बुँदे सुझाव

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाललाई प्रमुख प्रतिपक्षी नेकपा एमालेले भारत भ्रमणका क्रममा राष्ट्रिय हित विपरितका कुनै सम्झौता नगर्न को ध्यानाकर्षण गराएको छ।

 एमालेका शीर्ष नेताहरुले आइतबार बिहान सिंहदरबार पुगेर ६ बुँदे पत्र बुझाइ राष्ट्रिय हित, मुलुकको सार्वभौमसत्ता तथा अखण्डतामा आँच आउने किसिमका सम्झौता नगर्न प्रधानमन्त्री दाहालको ध्यानाकर्षण गराएका हुन्।
झलनाथ खनाल, माधवकुमार नेपाल लगायतका नेताहरुको टोली लिएर प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय पुगेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफू नेतृत्वको अघिल्लो सरकारका पालामा भएका सहमति र सम्झौतालाई नेपालको हित अनुकुल हुने गरी अघि बढाउने विषय भारतसामू राख्न प्रधानमन्त्री दाहालसँग आग्रह गरे।
उनले सन १९५० को सन्धी र त्यस सम्बन्धमा भएका पत्राचारहरुको पुनरावलोकन र अद्यावधिक गर्ने तथा दशगजा क्षेत्रमा अन्र्तराष्ट्रिय कानून विपरित बनाइएका संरचना हटाइनुपर्ने विषयमा स्पष्ट विचार राख्न पनि सुझाव दिए। ओलीले भ्रमण पहिले प्रमुख राजनीतिक दलका शीर्ष नेतासँग बैठक राखेर सुझाव लिने काम नगरिएका कारण आफैं पत्र बाकेर उपस्थित भएको बताएको एमाले नेता अग्नीप्रसाद खरेलले जानकारी दिए ।
एमालेले प्रधानमन्त्री दाहाललाई बुझाएको पत्रमा नेपालको भु भाग जलमग्न हुने समस्या समाधान गर्ने नेपालको आन्तरिक मामिलामा अनावश्यकरुपमा सरोकार र चासो बढाउने काम नगर्ने लगायतका विषयमा भारतीय नेतृत्वसँग स्पष्ट रुपमा कुरा राख्न सुझाव दिइएको छ ।