फाष्ट्र ट्रयाक र नौमुरे भारतलाई दिए सशक्त आन्दोलन

काठमाडौँ । चुरेभावर राष्ट्रिय एकता पार्टी नेपालले भारतको इशारामा संविधान संशोधन हुन लागेको आरोप लगाएको छ । कसैलाई खुसी बनाउनकै लागि संविधान संशोधन हुन विडम्बनापूर्ण रहेको पार्टीको ठहर छ ।

रिपोर्टर्स क्लव नेपालमा आईतबार पत्रकार सम्मेलन गरेर चुरेभावर पार्टीका अध्यक्ष बद्रीप्रसाद न्यौपानेले संविधान संशोधन गरेर मधेसी मोर्चाका अराजनीतिक माग कुनै पनि हालतमा पूरा गरिनु नहुने बताए । ‘कसैलाई खुसी पार्न भारतको इशारामा संविधान संशोधन हुनु दुःखद् हो’, उनले भने, ‘भारत भ्रमण अगाडि नै संविधान संशोधनको प्रस्ताव किन दर्ता गर्नु प¥यो ? संशोधनमा जानुअघि विभिन्न दलहरूसँग भएका सहमतिको पनि ध्यान दिनुपर्छ ।’ हिन्दी भाषालाई नेपालमा किन महत्वका साथ मधेसी मोर्चाले उठाएको छ ? भन्दै उनले प्रश्न समेत गरे । अध्यक्ष न्यौपानेले भने, ‘हिन्दी भाषालाई राष्ट्रिय भाषा कदापि बनाउनु हुँदैन ।’ उहाँले भन्नुभयो, ‘हिन्दी भाषा भारतका कतिपय राज्यमा अहिले पनि बोलिँदैन भने नेपालमा किन राष्ट्रिय भाषा बनाउने ?’  अंगीकृत नागरिकलाई उच्च पदमा लैजान नहुने चुरेभावर पार्टीको माग छ ।

पत्रकार सम्मेलनमा वितरित विज्ञप्तिमा भनिएको छ, ‘अंगीकृत नागरिकबाहकलाई रैथाने नागरिकसरह अधिकार दिनु हुँदैन, भाषाको नाऊँमा हिन्दीलाई मान्यता दिन सकिँदैन, राष्ट्रिय सभा र राष्ट्रिय सभालाई जनसंख्याका आधारमा बनाउनेजस्ता कथित सहमति नेपाली जनतालाई कुनै पनि हालतमा मान्य छैन ।’ ‘नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र)ले सरकार गठनका नाममा संयुक्त लोकतान्त्रिक मधेसी मोर्चासँग अप्राकृतिक र कथित तीन बुँदे सहमति भएको छ’, अध्यक्ष न्यौपानेले भने, ‘सरकारमा जानका लागि गरिएको उक्त तीन बुँदेले नेपालको राष्ट्रियता, सार्वभौमसत्ता, स्वाधीनता, राष्ट्रिय अखण्डतामाथि गम्भीर रुपमा प्रहार भएको यस पार्टीको ठहर छ ।’ सिंगो तराईलाई दुई प्रदेशमा सीमित गर्ने योजनाको विरोध गरेको चुरेभावर राष्ट्रिय पार्टीले मधेसी मोर्चाले भने जस्तो गरेर संविधान संशोधन हुन नहुने बताए ।

‘तराईको आन्दोलनका नाममा गम्भीर तथा जघन्य अपराधमा संलग्नलाई हदैसम्मको कारबाही गर्नुपर्दछ भन्ने यस पार्टीको प्रस्ट धारणा छ’, विज्ञप्तिमा भनिएको छ, ‘संविधान र राज्यको कानुन विरुद्ध जाने अधिकार कोही कसैलाई छैन, सहमति र सम्झौताका नाममा गम्भीर अपराध गरेकाहरूलाई कुनै पनि हालतमा छाडेर अपराधलाई मान्यता नदिन आग्रह गर्दछौं । र, त्यस्ता अपराधीहरुको मुद्दा फिर्ता पनि नलिन सरकारलाई गम्भीर ध्यानाकर्षण गराउँछौँ ।’ प्रधानमन्त्रीको आसन्न भारत भ्रमणको क्रममा फास्ट ट्रयाक, नौमुरेजस्ता कुनै पनि खाले राष्ट्रघाती र देशघाती सम्झौता नगर्न चुरेभावर पार्टीले सरकारलाई सचेत गराएको छ ।

तराईको हुलाकी मार्ग समयमा छिटोभन्दा छिटो सम्पन्न गर्नुपर्ने अध्यक्ष न्यौपानेको भनाई छ । चुरेभावरसँग विगतमा भएका सहमति कार्यान्वयन गर्नुपर्ने माग गरेका अध्यक्ष न्यौपानेले भने, ‘हाम्रा मागलाई बेवास्ता गरेर संविधान संशोधन भएमा त्यसका विरुद्ध सशक्त सडक आन्दोलन गर्ने छौँ । सरकारलाई घुँडा टेकाउन बाध्य बनाउने छौँ ।’