प्रधानमन्त्री दाहाल दिल्लीमा : विदेशमन्त्री स्वराजले गरिन् स्वागत

काठमाडौं । चार दिने राजकीय भ्रमणका लागि भारत पुगेका प्रधानमन्त्री पुष्पकमल दाहालको विमानस्थलमै भव्यरुपमा स्वागत भएको छ । भारतीय विदेशमन्त्री सुष्मा स्वराजले दिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा भव्य स्वागत गरेकी छिन् ।
०६२/६३ को आन्दोलन अघि नेपालका प्रधानमन्त्रीहरू भारत भ्रमणमा जाँदा राज्यमन्त्रीले स्वागत गर्ने गरेका थिए ।
अन्य मुलुकका कतिपय शीर्ष नेताले भारत भ्रमण गर्दा भारतीय प्रधानमन्त्री आफैं पनि विमानस्थल पुग्ने गरेका छन् ।
विमानस्थलबाट प्रधानमन्त्री दाहाल सोझै भारतीय राष्ट्रपतिको भवन गएका छन् । उनकाे स्वागतार्थ विमानस्थलमा दिल्लीस्थित नेपाली राजदूतावासका कार्यवाहक राजदूत कृष्णप्रसाद ढकाल, भारतको विदेश मन्त्रालयका उच्च अधिकारी तथा नेपाली दूतावासका अधिकृत उपस्थित रहेका थिए ।

प्रधानमन्त्री दाहालले अपरान्ह नेपाली समुदायसँग नेपाली राजदूतावासमा छलफल गर्ने कार्यक्रम छ । विहिबार साँझ प्रधानमन्त्री दाहाल आफ्नो सम्मानमा आयोजना हुने स्वागत समारोहमा सहभागी हुनेछन् । प्रतिनिधिमण्डलका अन्य सदस्य पनि दुवै समारोहमा सहभागी हुने कार्यक्रम तय छ । दाहाललाई बस्ने प्रबन्ध राष्ट्रपति भवनमै गरिएको समाचार छ । भ्रमण अवधिभर दाहाल राजकीय पाहुनाको हैसियतमा राष्ट्रपति भवनमा बस्नेछन् । प्रधानमन्त्री दाहालले शुक्रबारमात्रै भारतीय समकक्षी नरेन्द्र मोदीसँग भेटवार्ता गर्नेछन् । द्विपक्षीय सम्बन्ध सुधारलगायत विगतमा नेपाल-भारतबीच भएका सम्झौताको पूर्ण पालनाका विषयमा छलफल गरी प्रधानमन्त्री दाहाल असोज २ गते स्वदेश फर्कने कार्यक्रम रहेकाे छ ।