बम राख्नेलाई कडा कारवाही नगरे आन्दोलन गर्ने चेतावनी

काठमाडौँ । विद्यालय क्षेत्रमा बम आतंक फैलाइएको घटनामा संलग्नहरुलाई तत्काल कडा कारवाही नगरिए संयुक्त रुपमा आन्दोलनमा उत्रिने हिसान, प्याब्सन र एन प्याब्सनले चेतावनी दिएका छन्। बम पड्काइएका र बम राखिएका विद्यालयहरुको स्थलगत अवलोकन गरेका तीनै संगठनका प्रमुखहरुले मंगलबार नै संयुक्त पत्रकार संमेलनमार्फत प्रेस विज्ञप्ती जारी गर्दै यस्तो चेतावनी दिएका हुन्।

उच्च माध्यमिक विद्यालय संघ हिसानका अध्यक्ष रमेश सिलवालले शान्ति क्षेत्र घोषणा भएको विद्यालयमा बम पड्काउनु आपराधिक काम भएको टिप्पणी गरे। शान्ति क्षेत्रमा यसरी बम आतंक हुनुमा राज्यको कमजोरी भएको उनको आरोप थियो। सिलवालले यस्ता घटना नियन्त्रण गर्नका लागि राज्य गम्भीर बन्न नसके कडा आन्दोलनमा उत्रिने चेतावनीसमेत दिए ।

यस्तै, प्याब्सनका अध्यक्ष लक्ष्यबहादुर केसीले बम आतंकमा संलग्नलाई कडा  कारबाही गर्न माग गरे। एन प्याब्सनका अध्यक्ष कर्णबहादुर शाहीले विद्यालय क्षेत्रमा यस्ता घटना घट्नुमा शिक्षा मन्त्रालय दोषी रहेको आरोप लगाए।

राजनीतिक आवरण वा कुनै दलको संगठनका नाममा निजी विद्यालयमाथि गम्भीर आक्रमण भइरहँदा पनि शिक्षा मन्त्रालय मौन बस्नु दुर्भाग्य भएको शाहीको तर्क छ ।