नयाँ पत्रकार आचारसंहिता जारी

काठमाडौँ । पत्रकार र संचार माध्यमले गर्न हुने कर्तव्यमा १५ वटा तथा गर्न नहुने काममा १५ वटा बुँदा समेटेर प्रेस काउन्सिल नेपालले नयाँ पत्रकार आचारसंहिता जारी गरेको छ। प्रेस काउन्सिलले आफ्नो ४७ औं वार्षिकोत्सवको अवसर पारेर बिहिबार नयाँ पत्रकार आचारसंहिता जारी गरेको हो।

छापा माध्यमका अलावा रेडियो, टेलिभिजन, अनलाइन र समाचार एजेन्सीलाई समेटेर जारी गरिएको आचारसंहितामा सार्वभौमसत्ता, राष्ट्रिय एकता, जातजाति, भाषा, धर्म र संस्कृतिमा खलल पुर्‍याउने, जातीय र लैंगिक भेदभावलाई बढावा दिने, सार्वजनिक शिष्टाचार प्रतिकुल हुने सामाग्री प्रकाशन/प्रसारण गर्न नपाइने उल्लेख छ ।

आचारसंहिता अनुसार सार्वजनिक हितका लागि स्पष्टरुपमा आवश्यक पर्ने अवस्थामा वाहेक समाचार संकलनका लागि कुनै पनि प्रविधिको अदृष्यरुपमा प्रयोग गर्न पाइने छैन भने व्यवसायिक मर्यादा विपरित सरकारी, गैरसरकारी र व्यापारिक निकायबाट पुरस्कार र सम्मान लिन पनि पाइने छैन । आचारसंहिताले १६ वर्ष उमेर नपुगेका बालकालिकाको अन्र्तवार्ता र तस्वीर प्रकाशन/प्रसारण गर्दा अभिभावकको अनुमति लिनुपर्ने व्यवस्था गरेको छ । अनलाइन संचार माध्यमहरुले एकपटक पोष्ट गरेका समाचार हटाउन नपाउने व्यवस्था आचारसंहितामा गरिएको छ ।

आचारसंहिताको उल्लंघन गरेको अवस्थामा प्रेस काउन्सिलले पत्रकारको प्रेस पास निलम्बन गर्न निर्देशन दिने, सरकारी भ्रमणमा सहभागी नगराउन र संचार माध्यमलाई सरकारी वा सार्वजनिक निकायका तर्फबाट उपलब्ध गराइने सुविधा वा विज्ञापन रोक्न सिफारिस गर्ने तथा वर्गिकरणको प्रक्रियाबाट अलग गर्ने आचारसंहितामा उल्लेख छ ।

प्रेस काउन्सिलका अध्यक्ष बोर्णबहादुर कार्कीले पत्रकार र संचारमाध्यममा स्वेच्छाचारिता मौलाउँदै गएको र त्यसको परिणाम संचारमाध्यमप्रतिको जनविश्वास पनि कम हुँदै गएका कारण गलत क्रियाकलापलाई निरुत्साहित गर्ने लक्ष्यसहित आचारसंहिता जारी गरिएको बताए।

प्रेस काउन्सिलले यसअघि २०६० सालमा २५ बुँदे आचारसंहिता जारी गरेको थियो । प्रेस काउन्सिल ऐन २०४८ को  दफा ७ ले काउन्सिललाई पत्रकार आचारसंहिता जारी गर्ने अधिकार दिएको छ ।