सरकारबिरुद्ध राजधानीमा सयौ जागरुक युवाहरुको प्रदर्शन

काठमाडौँ । बेस्सरी पानी दर्किरहँदा आज राजधानीमा युवाहरुले सरकारबिरुद्ध चर्को प्रदर्शन गरेका छन् । प्लाष्टिक र छाता ओढेर ठूलो संख्यामा सडकमा निस्केका उनीहरुले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख लोकमान सिंह कार्कीको सेटिङविरुद्ध माइतिघरमा प्रदर्शन गरेका हुन् ।

गृहमन्त्री लगायतका मन्त्रीहरुले मनलाग्दो अभिव्यक्ति दिँदै हिड्दा पनि प्रधानमन्त्री मौन बसेको, प्रधानमन्त्री जस्तो व्यक्तिले कुरा मिलाईसकेको भनेर गैरजिम्मेवारपूर्ण अभिव्यक्ति दिएको भन्दै युवाहरुले चर्काे विरोध गरेका छन् । टिकापुर घटनाका दोषीहरुलाई माफी दिन लागेको, हिन्दी भाषालाई राष्ट्रिय भाषाको मान्यता दिन खोजेको र चीनसँग भएका सम्झौताहरु कार्यान्वयनमा ध्यान नदिएको भन्दै उनीहरुले प्रर्दशन चर्काउने चेतावनी समेत दिएका छन् ।

अख्तियार र सरकार मिलेर भ्रष्टाचार लुकाएको भन्दै विवेकशिल नेपाली दल, जागरुक युवा अभियान लगायतका सदस्य तथा स्वस्फूर्त युवाहरुले दबावमूलक कार्यक्रम आयोजना गरेका हुन् । उनीहरुले ‘प्रचण्ड लोकमान सेटिङ, नागरिकलाई चिटिङ’, ‘सिक्किमिकरण मुर्दावाद’, ‘टिकापुर घटनाका दोषीलाई उन्मुक्ति दिन पाइदैन’, ‘लडाकु शिविर भ्रष्टाचारको छानविन गर’, ‘राजनीतिक सिण्डकेट अन्त्य गर, ‘फाइल लुकाउनेलाई कारवाही गर’, ‘दण्डहीनता अन्त्य गर’, ‘चारैतिर प्रष्टै छ, टंगार बालुवाटार भ्रष्ट छ’ लगायतका नारा लगाएका थिए ।

सरकारको पछिल्लो गतिविधिले सिक्किमिकरणको संकेत गरेको र शिक्षित वर्गहरु अब पनि चुप लागेर बसे मुलुकको अस्तित्व खतरामा पर्ने भन्दै सवै सचेत वर्ग जाग्नुपर्ने बेला भएको वताएका छन् ।  सरकारको पछिल्लो गतिविधिको विरोध गर्दै आव पोखला, मोरङ लगायतका ठाउँहरुमा पनि प्रदर्शन गरिएको छ ।

फोटो: राजेश खत्री