ओलीको कटाक्ष- ‘फरार अभियुक्त भेट्नको लागि राजकीय भ्रमण ?’

काठमाडौँ ।  नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री पुष्पकमल दाहाल’प्रचण्ड’ बिरुद्द खनिएका छन् । आज संसद बैठकमा सम्बोधन गर्ने क्रममा ओलीले प्रचण्डको आलोचना पनि गरे ।

बैठकलाई सम्बोधन गर्दै ओलीले प्रधानमन्त्रीको भारत भ्रमणका क्रममा नेपालको संविधान कार्यान्वयनका सम्बन्धमा भारतीय चासो र भूमिका आमन्त्रण गरेको जनाउँदै आपत्ति जनाए  । उनले भारत भ्रमणबाट फर्केपछि संसद्लाई औपचारिक जानकारी नदिइएको र सार्वभौम नेपालको संविधानबारे साझा चासोका विषय झैँ अनावश्यक चासो र भूमिका आमन्त्रण गरिएको जिकिर गरे । संसदमा सम्बोधन गर्दै उनले सोधे ‘‘नेपाल र भारतबीचको सम्बन्ध कहाँ बिग्रेको थियो ? के सप्रियो ? प्रधानमन्त्री हट्नु वा नयाँ प्रधानमन्त्री बन्नु सप्रनु हो ? के कुनै नाकाबन्दी थियो वा व्यवधान थियो र हट्यो कि ? के संविधानबारे भारतीय चासो बढ्नु भ्रमणको उपलब्धि हो ?’’  उनले भने ‘‘अरु पनि प्रधानमन्त्री विशेष भ्रमणमा जान्छन् तर अरुले विदेशमा गएर प्रतिपक्षको धज्जी उडाउँदैनन्, मर्यादा त सोच्नुपर्ने हो । मेरो दल समस्या समाधानमा वार्ता र छलफल गर्न तयार छ तर सरकारका तर्फबाट यसमा गम्भीर बाधा भएको छ ।’’

ओलीले भ्रमणमा दुवै देशका परियोजनाबारे नेपाल सरकार र काठमाडौंँस्थित भारतीय दूतावासले समन्वय गर्ने भनेर असन्तुलित र अपमानजनक बुँदामा हस्ताक्षर भएको र इन्धन आपूर्तिमा भारतीय एकाधिकारको पुनरावृत्ति गराउन खोजेको आरोप पनि लगाए  । सरकार बनेलगत्तै चीन र भारतमा विशेष दूत पठाएकामा पनि प्रश्न गर्दै ओलीले भने, ‘‘केका लागि विशेष दूत ? नयाँ सरकार बनेकामा धन्यवाद दिन ? अरु विशेष अवस्था के परेको थियो नेपालमा ?’’ भारतको राजकीय भ्रमणमा प्रधानमन्त्रीले फरार अभियुक्तलाई भेटेकामा आश्चर्य व्यक्त गर्दै बिनातयारी र योजना त्यस्तो भेटघाट हुन नसक्ने भन्दै प्रश्न गरे, ‘‘त्यस्तो भेटघाटका लागि राजकीय भ्रमणको प्रबन्ध मिलाउनुपर्छ, प्रधानमन्त्रीज्यू ?’’ संविधन संसोधनबारे उनले प्रश्न उठाउदै भने ‘‘प्रतिपक्षले नमाने पनि दुई तिहाइ पु¥याई पेलेर संविधान संशोधन गर्छु रे, के भनेको यो ? प्रतिपक्षको सहमतिबिना सर्वस्वीकार्यताको अर्थ त मैले शब्दकोषमा पनि देखेको छैन ।’’

लडाकुको रकम अनियमितताको प्रकरणमा सर्वाेच्च अदालत, अख्तियार दुरुपयोग अनुसन्धान आयोग जस्ता निकायसँग कुरा मिलाएको भनेर बाहिर आउनु कानुनी राज्य र शक्ति पृथक्कीकरणको सिद्धान्त विपरीत भएको र त्यस प्रकरणमा एमालेले उक्साएको भनिनुलाई आपत्तिजनक विषय भएको अध्यक्ष ओलीको भनाइ थियो ।

दुई वर्षीय बालकलाई समेत मारिएको कैलालीको टीकापुर घटनाका गम्भीर अपराधमा संलग्न दोषीलाई उन्मुक्ति दिने प्रयास भएकामा पनि ध्यानाकर्षण गराउँदै उनले जघन्य अपराध र शान्ति प्रक्रियाका बीचमा भिन्नता हुने उल्लेख गरे । उनले तराई–मधेसका आन्दोलनका क्रममा घाइतेको सूचीका आधारमा नभई दलविशेषलाई रकम दिनु अनुचित भएको बताए ।  अध्यक्ष ओलीले रकमान्तर गरेर कुनै नयाँ कार्यक्रम नल्याउन, प्रचारात्मक नभई व्यवहारिक हुन र ठोस तालिकाका साथ संविधानको कार्यान्वयन गर्न पनि सरकार र दलहरुलाई आग्रह गरे ।  साथै उनले आफुले गरेको कामको जस प्रधानमन्त्रीले लिएको समेत आरोप लगाए ।

भूकम्प पीडितको अनुदानको सबै गृहकार्य आफ्नो सरकारले गरेको बताउदै उनले नयाँ सरकारले पैसा हातमा दिएर जस लिएको आरोप लगाए  ।  उनले ब्यङ्ग गर्दै भने ‘ धारा, पाईप ट्यांकी सब मैले बनाएको थिए, धारा खोल्न बाकी थियो, वहाँ आएर धारा खोल्नु भो, अनि भन्नु भो ‘काम गर्नेले यसरी गर्छ’ ।  उनले प्रतिपक्षी दलको नेताको रुपमा पहिलो पटक संसदमा सम्बोधन गरेका हुन् ।