बंगलादेश, भुटान र अफगानिस्तानले पनि सार्क सम्मेलनमा भाग नलिने

काठमाडौँ । आगामी नोभेम्बरमा पाकिस्तानको इस्लामावादमा हुन गइरहेको दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क)को सम्मेलनमा भारत, बंगलादेश, भुटान र अफगानिस्तानले सहभागिता नजनाउने भएको छ ।

इस्लामावादमा हुन लागेको सार्कको १९ औं सम्मेलनमा भाग नलिने भन्दै ती राष्ट्रहरूले सार्कको वर्तमान अध्यक्ष नेपाललाई यस विषयमा छुट्टाछुट्टै पत्र पठाएको टाइम्स अफ इन्डियाले लेखेको छ । बंगलादेशले उसको आन्तरिक मामिलामा पाकिस्तानले हस्तक्षेप बढाउँदै लगेको भन्दै यस अवस्थामा सार्क बैठक सफल हुन नसक्ने बताएको छ ।

भुटानले पनि सार्कको प्रगतिप्रति आफू प्रतिबद्ध रहेको तर यस क्षेत्रमा पछिल्लो समय बढेको आतंकवादले सार्क सम्मेलन सफल हुनेमा आशंका उब्जिएको बताएको छ । त्यस्तै, अफगानिस्तानले पनि आफू सम्मेलनमा सहभागी नहुने ब्यहोराको पत्र नेपाललाई पठाएको बताइएको छ ।
इस्लामावादमा आगामी नोभेम्बर ९ र १० का दिन १९ औं सार्क शिखर सम्मेलन हुने तय थियो । सार्क बडापत्रमा कुनै एउटा राष्ट्र अनुपस्थित वा असहमत भएमा सम्मेलन वा कुनै निर्णय हुन नसक्ने प्रावधान छ ।