दसैँमा काठमाडौँ उपत्यकाबाहिर पनि साझा बस चल्ने

काठमाडौँ । उपत्यकामा बस सेवा संचालन गरीरहेको साझा यातायातले दशैँमा उपत्यका बाहिर पनि सेवा दिने भएको छ  । साझाले दसैँमा काठमाडौँ उपत्यकाबाहिर जाने यात्रुको चापलाई ध्यान दिदै   आउँदो आइतबारदेखि बागलुङ र गोरखाका लागि बससेवा सञ्चालनमा ल्याउने तयारी गरेको हो । दश वर्षको अन्तरालपछि  साझा यातायातले पुनः काठमाडौँ उपत्यकाबाहिर सेवा विस्तार गर्न लागेको हो ।

लामो समयपछि सुरु गर्न लागिएको उक्त सेवा विस्तारको प्रारम्भिक परीक्षणमा काठमाडौँदेखि बागलुङका लागि दुई र काठमाडौँ—गोरखाका लागि दुईवटा बस सञ्चालन हुने साझाले बताएको छ । यही असोज १६ गतेदेखि काठमाडौँबाट बिहान ६ः३० बजे बागलुङका लागि दुई र गोरखाका लागि बिहान ७ बजे दुई बस सञ्चालन हुनेछन् ।

विभिन्न आन्तरिक कारणले गर्दा विसं २०६२/६३ बाट पूर्णरुपमा लामो रुटमा साझाका बस सञ्चालन हुन छाडेको थियो । काठमाडौँ उपत्यकामा भने विसं २०७० वैशाखदेखि १६ वटा बस सञ्चालन भइरहेका छन् । साझाले अहिले उपत्यकाबाहिर सञ्चालन गर्न लागेको बस कुनै नयाँ नभई हाल उपत्यकामा सञ्चालन भइरहेको बस नै हो ।

एक हप्ताअघि भारतबाट ल्याइएका तीस बस भने परीक्षणका क्रममा रहेकाले दसैँपछि मात्र सञ्चालन हुने छन् ।