कान्तिपुर गोर्खाज पराजित, कलर्सको दोस्रो जित

काठमाडौँ । कान्तिपुर गोर्खाज एभरेस्ट प्रिमियर लिग टि २० क्रिकेट प्रतियोगिताको अन्तिम खेलमा पनि पराजित भएको छ । आज भएको खेलमा कलर्स एक्स फ्याक्टरले कान्तिपुरलाई १५ रनले पराजित गरेको हो । टस हारेर पहिले ब्याटिंग गरेको कलर्स एक्स फ्याक्टरले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय २४  रन जोड्यो ।

कलर्सका लागि योगेन्द्र सिंह कार्कीले सर्बाधिक ३०, कप्तान ज्ञानेन्द्र मल्लले २०, राजेश पुलामी मगरले १७, अमर रौटेलाले १६, हरी शंकर शाहले १२ तथा सिद्दान्त लोहनीले १० रन जोडे । अन्यले दोहोरो अंकको रन बटुल्न सकेनन्  ।  कलर्स एक्स फ्याक्टरलाई सस्तैमा समेट्न बसन्त रेग्मी र ललित भण्डारीले समान २-२ तथा ललित राजवंशी र आकाश बिष्टले १-१ विकेट लिए  ।  १ सय २५ रनको बिजयी लक्ष्य लिएर मैदान उत्रेको कान्तिपुरले निर्धारित २० ओभरमा १ सय ९  रन मात्र जोड्न सक्यो ।

कान्तिपुरका लागि प्रदिप ऐरीले सर्बाधिक ३१ रन, अन्तिम थापाले ३० रन, , बसन्त रेग्मीले २५ रन बनाउनु बाहेक अन्यले दोहोरो अंकको रन बटुल्न सकेनन् ।  १ सय २४ रन डिफेन्ड गर्ने क्रममा कलर्सका अमर रौटेलाले ३, अविनाश कर्णले २ तथा तथा योगेन्द्र सिंह कार्की र हरिशंकर शाहले १-१ विकेट लिए। प्रतियोगितामा कान्तिपुरले सबै ५ खेल खेलीसकेको छ  । ५ खेल मध्ये कान्तिपुरमा १ मा जित, ३ मा हार बेहोर्यो भने एक खेल भने वर्षाका कारण रद्द भएको थियो  ।

उसले जम्मा ३ अंक मात्र जोड्न सक्यो । कान्तिपुर् बसन्त रेग्मीको कप्तानीमा मैदान उत्रेको थियो  ।  जित हात पारेको कलर्सको भने ३ खेलबाट ४ अंक भएको छ ।