सोल्टीका क्यासिनो संचालक भारतीय नागरिकबिरुद्द रे कर्नर नोटिस

काठमाडौँ । संसदीय समितिले  क्यासिनो नेपालका तत्कालीन संचालक भारतीय नागरिक राकेश वाधवा, शालिनी वाद्वा र शान्ति चड्डालाई इन्टरपोलमार्फत रेड कर्नर नोटिस जारी गर्न सरकारलाई निर्देशन दिएको छ ।

समितिले उनीहरुलाई रेड कर्नर नोटिस जारी गरी  नेपाल झिकाएर क्यासिनोका कर्मचारीहरुले पाउनुपर्ने रकम असुल  उपर गर्न पनि निर्देशन दिएका छन्  । सामाजिक न्याय तथा मानवअधिकार समितिले नरबहादुर थापा संयोजक रहेको उपसमितिको सुझावका आधारमा समितिले यस्तो निर्देशन दिएको हो । सोल्टी होटल परिसरमा नेपाल रिक्रियशन सेन्टरले सञ्चालन गरेको क्यासिनो नेपाल ९ सय ३१ जना कामदारलाई ४५ करोड ४२ लाख रुपैयाँ तलब सुविधा तथा सरकारलाई ६ वर्षको रोयल्टी तिर्न बाँकी छ ।

समितिले कानूनमा क्यासिनो संचालकहरु परिवर्तन हुँदा विगतको सबै दायित्व लिने र ५ वर्षको दायित्व बराबरको जायजेथा वा बैंक ग्यारेण्टी धरौटीवापत जम्मा गर्न सक्ने कम्पनीलाई मात्र क्यासिनो संचालनको अनुमति दिन सक्ने व्यवस्था गर्न पनि निर्देशन दिएको छ ।