आज घटस्थापना, जमरा राख्ने दिन

काठमाडौँ ।  नेपालीहरुको महान पर्व विजयादशमी सुरु भएको छ । पहिलो दिन शनिबार घरघरमा कलश स्थापना गरी घटस्थापना मनाइँदै छ ।

आजैदेखि नवरात्र आरम्भ हुन्छ । घटस्थापनाका दिन दियो, गणेश र कलशको पूजा गरी घटस्थापना गर्ने र शक्तिस्वरुपा महाकाली, महालक्ष्मी र महासरस्वतीको पूजा गर्दै जमरा राखिने गरिन्छ । आज कलशको स्थापना गरी नदी, खोला, बगर या आफूलाई पायक पर्ने ठाउँमा गई चोखो बालुवा या माटो ल्याई दसैं घर वा पूजाकोठामा राखी त्यस ठाउँमा जमरा उमार्न जौ छर्ने प्रचलन रहेको छ ।

यसरी उमारिएको जमरा विजयादशमीका दिन देवीको प्रसादका रुपमा लगाउने गरिन्छ । आज घटस्थापनाको साइत बिहान ८ बजेर ३५ मिनेटमा शुभ रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ ।