त्रिभुवन विमानस्थल बन्द गर्ने चेतावनी

काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कार्यरत पिडीत श्रमिकले बाध्य भएर एयरपोर्ट बन्द गर्नुपर्ने अवस्था आएको बताएका छन्  । पर्यटन क्षेत्रसँग सम्बन्धित मजदुर संगठन नेपाल ट्रेकिङ–ट्राभल–र्याफ्टिङ–एयरलाईन्स मजदुर यूनियन(यूनिट्राभ)ले एक बिज्ञप्ति जारी गर्दै श्रमिकको समस्या प्रति  सरकार र  हवाइ प्राधिकरण दुवै पक्ष गम्भीर नभएको भन्दै बाध्य भएर विमानस्थल बन्द गर्नु पर्ने अवस्था आएको बताएको हो ।

नेपाल नागरिक उड्डयन प्रधिकरण अन्तर्गत ठेकेदार कम्पनीमार्फत त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल(एयरपोर्ट) मा कार्यरत करिब ४ सय श्रमिकहरुलाई दशैं कसरी मनाउने भन्ने चिन्ता सुरु भएको बेला नेपाल नागरिक उड्डयन प्राधिकरणका डिजि (महानिर्देशक), निर्देशक, मन्त्री सबै बिदेशमा सरर जाहाज चढेर क्यानडातिर मोज गरेर हिंडिरहेको आरोप श्रमिकहरुले लगाएका छन् ।

मजदुरहरुले यस विषयमा बारम्बार कुरा राख्दा पनि सम्बन्धीत निकाय कानमा तेल हालेझैं गरेर मौन बस्ने गरेको र ठेकेदार कम्पनीहरु यो आफ्नो काम नभएको भन्दै पन्छिने गरेका उनीहरुको गुनासो छ । श्रमिकहरुले पर्यटन मन्त्रालयका सचिव शंकरप्रसाद अधिकारी पनि आफुलाई यस विषयमा कुनै थाहा नभएको भन्दै पन्छिने गरेको गुनासो गरेका छन् । काममा लगाउने र मजदुरप्रति जिम्मेवार नहुने व्यवस्थापकलाई सरकारले कारबाही गर्नुपर्ने उनीहरुको माग छ ।

श्रमिकहरुले आफुले पाउनुपर्ने रकम तथा सुबिधा समयमै उपलब्ध गराउन दबाब मुलक कार्यक्रमको समेत घोषणा गरेका छन् ।माग सम्बोधन नभए एकमात्र एयरपोर्ट ठप्प पार्नेसम्मको कदम चाल्न बाध्य हुने  बिज्ञप्ति मार्फत जनाएको छ  ।

यस्ता छन् आन्दोलनका कार्यक्रमहरु

१८ गते  ९ बजे १० बजे सम्म एयरपोर्ट भित्र रहेको ठेकेदारको अफिस घेराउ गर्ने । – १९ गते हबाइ प्रधिकरण डिजिको कार्यकक्ष घेराउ गर्ने । १९ गते  ज्ञापन  पत्र बुझाउने । –२० गते एयरपोर्टमा काम नगरि दुई घन्टा बन्द गर्ने । –२१ गते सरसफाइ देखि सबै काम बन्द गर्ने साथै मानव अधिकार कार्यालय संसद भवनमा लबिङ गर्ने ।