इपिएल क्रिकेटको उपाधी पञ्चकन्यालाई

काठमाडौँ । कलर्स एक्स फ्याक्टर्सलाई हराउदै एभरेष्ट प्रिमियर लिग इपिएल क्रिकेटको उपाधी पञ्चकन्या तेजले जितेको छ । फाइनल खेलमा कलर्स एक्स फ्याक्टर्सलाई ४० रनले हराएर पञ्चकन्याले उपाधी जितेको हो ।

पहिले टस जितेर ब्याटिङ रोजेको पञ्चकन्याका लागि आशिफ शेखले सतक हाने । उनले ६४ बलमा अविजित १ सय ११ रन बनाएका हुन् । उनले ७ चौका र ८ छक्का हाने । यस्तै आरिफ शेखले २० बलमा २३ रन बनाए । कलर्सका अभिनास कर्ण, अमर रौतेला, सञ्जम रेग्मी, योगेन्द्र सिंह कार्कीले एक एक विकेट लिए ।

पञ्चकन्याले पूरा २० ओभर खेल्दै ४ विकेट गुमाएर १ सय ७१ रन बनाएको हो । १ सय ७२ रनको लक्ष्य पछ्याएको कलर्सले १७ ओभर ३ बलमा सबै विकेट गुमाएर १ सय ३१ रन मात्र बनायो । कलर्सका लागि हरिशंकर शाहले ११ बलमा १४, ज्ञानेन्द्र मल्ले ३२ बलमा ४७, राजेश पुलामीले ३५ बलमा ३७ रन बनाए । पञ्चकन्याका करण केसीले ३, सुशिल कँडेल र शरद भेषावकरले दुई दुई साथै भुवन कार्की र दिपेन्द्र सिंह ऐरीले एक एक विकेट लिए । सञ्जय बस्नेतलाई सुशिल कँडेलले रन आउट गराएका हुन् ।