निर्वाचन सम्बन्धी ३ विधेयक पेस, राप्रपा नेपाललाई धक्का लाग्ने सम्भावना

काठमाडौँ । व्यवस्थापिका–संसद्मा निर्वाचनसम्बन्धी तीन विधेयक आज पेस भएको छ । उपप्रधानमन्त्री एवम् गृहमन्त्री विमलेन्द्र निधिले ‘राजनीतिक दलसम्बन्धी विधेयक, २०७३’, ‘मतदाता नामावली सम्बन्धी विधेयक, २०७३’ र ‘निर्वाचन आयोग विधेयक, २०७३’ पेस गरेका हुन्।

कानुनका अभावमा स्थानीय, प्रान्तीय तथा केन्द्रको निर्वाचन गर्न सम्भव नहुने भएपछि गृह मन्त्रालयले निर्वाचनसँग जोडिएको विधेयक प्रस्तुत गरेको हो । ती विधेयक पारित भएपछि निर्वाचन आयोगलाई निर्वाचन तयारीका लागि आवश्यक मार्ग प्रशस्त हुने विश्वास लिइएको छ । यसअघि ‘राजनीतिक दलसम्बन्धी विधेयक, २०७३’ र ‘निर्वाचन आयोग विधेयक, २०७३’ माथि सांसद प्रेम सुवाल, अनुराधा थापा मगर र डिल्लीप्रसाद काफ्लेले संयुक्त रुपमा प्रस्तुत गरेको  विरोधको सूचनालाई सदनको बहुमतले अस्वीकृत गरेको थियो ।

विधेयक पारित भए चौथो शक्ति राप्रपा नेपालले प्रयोग गर्दै आएको गाई चुनाव चिन्ह गुम्नेछ। विधेयकमा राष्ट्रिय वा अन्तराष्ट्रिय चिन्हलाई राजनीतिक दलहरुको निर्वाचन चिन्हका रुपमा प्रयोग गरेको पाइएमा दल दर्तामा प्रतिबन्ध लगाउने प्रस्ताव गरिएको छ। विधेयकको दफा ६ को दल दर्ता हुन नसक्ने व्यवस्थाको उप दफा (ङ) ले ‘दलले प्रयोग गर्ने झण्डा वा चिन्ह नेपालको राष्ट्रिय झण्डा वा राष्ट्रिय चिन्ह वा अन्तराष्ट्रिय संस्थाको झण्डा वा चिन्ह अनुरुप हुने वा मिल्ने देखिएमा’ भनेर उल्लेख गरेको छ।

उक्त प्रावधान अनुसार राप्रपा नेपालले प्रयोग गर्दै आएको गाई चुनाव चिन्ह गुम्नेछ। विधेयकमा ‘कुनै राजनीतिक दलको नाम उद्धेश्य, चिन्ह वा झण्डा देशको धार्मिक वा साम्प्रदायिक एकतामा खलल पार्ने वा देशलाई विखण्डित गर्ने प्रकृतिको रहेछ भने यस्तो राजनीतिक दल दर्ता हुने छैन’ भनि प्रस्ताव गरिएको छ ।

त्यस्तै दफा १९ को उपदफा २ क ले प्रतिस्पर्धात्मक बहुदलीय, संघीय लोकतान्त्रिक गणतन्त्रात्मक प्रणालीको सदृढिकरण सम्बन्धि काम गर्ने भनिएको छ। राप्रपा नेपालले  धर्म निरपेक्षता र गणतन्त्रको बारेमा आफ्नो अडान कायम राखे दल नै प्रतिबन्ध हुन् सक्छ ।