के के भयो शिक्षामन्त्री र डा केसीका प्रतिनिधिबीच राति अबेरसम्म भएको वार्तामा

काठमाडौँ । शिक्षा मन्त्री धनिराम पौडेल र अनशनरत डा गोविन्द केसीका प्रतिनिधिबीच गएराति भेटवार्ता भएको छ । शिक्षामन्त्री पौडेल र डा केसीका प्रतिनिधि डा जीवन क्षेत्रीसहितको टोलीबीच मङ्गलबार राति अबेरसम्म मन्त्री निवास हरिहरभवन, पुल्चोकमा भेटवार्ता भएको हो ।

मन्त्री पौडेलका प्रेस संयोजक जनार्दन पोखरेलका अनुसार वार्तामा डा केसीले उठाउँदै आएका माग सम्बोधन तथा अनशन तोड्ने विषयमा सकारात्मक छलफल भएको थियो । छलफल सकारात्मक भएपनि पनि कुनै सहमति नभएको  पोखरेलले बताए ।

छलफलमा मन्त्री पौडेलले चिकित्सा शिक्षा सुधारको माग गर्दै विगत १० दिनदेखि शिक्षण अस्पताल महाराजगन्जमा नवौँपटक आमरण अनशन बसेका डा केसीको स्वास्थ्य अवस्था गम्भीर भएकोप्रति चासो व्यक्त गरेका थिए । उनले  डा केसीको माग सम्बोधन गर्ने गरी चिकित्सा शिक्षा विधेयक संसद्मा पेस भई छलफलसमेत भइसकेको अवस्थामा पुनः अनशन बस्नु सान्दर्भिक नभएको जिकिर समेत गरेका थिए ।

मन्त्री पौडेलले आमरण अनशन तोडेर वार्ता र संवादद्वारा समस्याको समाधान खोज्न पनि आग्रह गरेका थिए ।