लोकमानको घरमा म्याद टाँस्न गएकाे सर्वोच्चकाे टाेली त्यसै फर्कियाे

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोग प्रमुखमा लोकमान सिंह कार्कीको घरमा म्याद टास्न गएको सर्वोच्च अदालतको टोली म्याद नटासी त्यसै फर्किएको छ । लोकमानको नियुक्ति विवादलाई फेरि सुनुवाई गर्ने र त्यसको लागि अदालतमा बोलाउने सुचना टाँस्न सर्बोच्चको टोली बानेश्वर स्थित उनकै घरमा पुगेको थियो ।

म्यादको पत्रमा, निर्णयको जानकारी दिँदै मुद्दाका दुवै पक्षलाई १५ दिनभित्र अदालतमा उपस्थित हुन  भनिएको  थियो । तर उनको घरमा परिवारका कोहि सदस्य नभएपछि टोली त्यसै फर्किएको हो  । कोहि नभएपछि यस्तो सुचना टास्नको लागि गाविस वा वडाको प्रतिनिधिलाई साक्षी राखेर घरमा टाँस्नु पर्ने नियम छ। तर  आज साक्षी बस्ने भनिएकी वडा सचिव सरिता राई सम्पर्कमै नआएपछि अदालतका कर्मचारी फर्किएका हुन्।

अब अदालतले  राष्ट्रिय  पत्रिकामा वा टेलिभिजनमा सुचना प्रसारण गरेर लोकमानलाई सुचना बुझाउन सक्ने छ । यसरी सुचना जारी भए त्यसको ४५  दिनभित्र अदालतमा लोकमान आफै वा वारिस मार्फत उपस्थित हुनुपर्ने छ । लोकमान हाल क्यानडामा छन् ।