आज विजयादशमी: दिनभरि साइत हेरिरहनु पर्दैन

२५ असोज, काठमाडौँ । नेपालीहरूको महान सांस्कृतिक पर्व बडादशैंको आज टीका थाप्ने  दिन हो । नेपाल पञ्चाङ्ग निर्णायक समितिका अनुसार टीकाको उत्तम साइत बिहान ८ बजेर ४५ मिनेटमा परेको छ । विहानै सार्इत परेपनि दिनभरि नै टीका लगाउन साइत हेरिरहनुपर्दैन ।

पञ्चाङ्ग निर्णायक समितिका अनुसार देवी विसर्जनको साइत बिहान ८ बजेर २५ मिनेटमा रहेको थियाे भने टीका प्रसाद ग्रहण गर्ने साइत ८ बजेर ४५ मिनेटमा उत्तम रहेको समितिका अध्यक्ष एवम् धर्मशास्त्रविद् प्रा.डा रामचन्द्र गौतमले वताएका छन् ।

आश्विन शुक्ल दशमीका दिनमा मनाइने विजयादशमी पर्व आज हर्षोल्लासका साथ मान्यजनबाट दुर्गा भवानीको प्रसादस्वरुप टीका, जमरा ग्रहण गरेर मनाउने गरिन्छ । विजयादशमी आफैँमा शुभ दिन भएकाले आजका दिन टीका लगाउन सामान्य मानिसले साइत खोज्नु नपर्ने उनकाे भनाइ छ । आजदेखि कोजाग्रत पूर्णिमाका दिनसम्म मान्यजनबाट दुर्गाको प्रसादस्वरुप टीका, जमरा र आशीर्वाद थाप्ने प्रचलन छ ।